मधेश

स्थानीय तह निर्वाचनका लागि समीक्षा गर्ने गठबन्धनको निर्णय

इकागज |
चैत २१, २०७८ सोमबार १८:३५ बजे

जनकपुरधाम - सत्तारुढ गठबन्धनबीच मधेश प्रदेशमा स्थानीय तह निर्वाचनका लागि समीक्षा गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनको मधेशमा तालमेल गर्न सम्पन्न बैठकबाट प्रदेशका सबै स्थानीय तहको समीक्षा गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादवले बैठकले जानकारी दिएका छन्।

बैठक बारे जानकारी दिदै उनले प्रत्येक जिल्लामा यसको कांग्रेसले समन्वय गर्ने गरी गठबन्धन दलको बैठक बसेर प्रत्येक जिल्लाको पालिकाको अवस्थाबारे समीक्षा गरेर प्रतिवेदन पेश गर्न सबै जिल्लामा पत्राचार गरिएको बताए । सभापति यादवले भने 'जिल्ला स्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर मंगलबार २२ गतेसम्म प्रतिवेदन बुझाउन निर्देशन सहितका पत्राचार नै गरिएको छ, प्रतिवेदन आइसकेपछि त्यसमा थप छलफल गरी अघि बढनेछौं ।'


त्यस्तै नेकपा माओवादी केन्द्रका नेता योगकुमार बरबरियाले गठबन्धन भित्रका पार्टीहरुको वर्तमान अवस्था के छ भन्ने तथ्यांक संकलन गर्ने र गठबन्धनलाई चुस्त दुरुस्त बनाउने विषयमा निर्णय भएको बैठकको निर्णय बारे जानकारी दिएका छन् । तथ्यांक संकलन भए पश्चात केन्द्रमा पठाउने र केन्द्रबाटै तालमेलको विषयमा निर्णय हुने उनले बताए ।

बैठकमा सबै दलका प्रतिनिधिले गठबन्धन र चुनावी तालमेलको विषयमा धारणा राखेका थिए । सबै सकरात्मक देखिएकाले तालमेलको सम्भावना प्रवल रहेको उनले बताए । जनकपुरधामस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको बैठकमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका प्रदेश कमिटीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x