डेढ दशकपछि धनुषा अस्पताल सञ्चालन प्रक्रिया अघि बढ्यो
जनकपुरधाम– झण्डै डेढ दशकपछि धनुषा जिल्ला अस्पतालको सञ्चालन प्रक्रिया अघि बढाइएको छ । जिल्लाको शहीदनगर नगरपालिका वडा नम्बर ८ डुमरियास्थित निर्मित शहीद सूर्यनारायण रान स्मृति जिल्ला अस्पताल भवन निर्माण भएको वर्षौपछि सञ्चालनको प्रक्रिया बढाइएको हो ।
प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया र नगरपालिकाको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी नेतृत्वमा आएको टोलीले सोे अस्पताल अनुगमन गरे । अनुगमन पश्चात मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीले अनुगमनमा सम्पन्न पश्चात आएको प्रतिवेदनको आधारमा चाँडै नै सञ्चालन प्रक्रिया अगाडि बढाइनेछ बताए । उनले भने ‘भवन निर्माण भई नै सकेको छ, बेड, एक्सरे मेसिन, ल्याब लगायतका उपकरण र कर्मचारी व्यवस्थापन प्रक्रिया पुरा गरे चाँडै नै सञ्चालनमा ल्याउनेछौं ।’
अस्पताल सञ्चालन हुन नसक्नु बारे जानकारी दिदैं प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले देशमा संघीयता आइसकेपछि कानूनी अड्चन र राजनीति उपेक्षाका कारण सञ्चालन हुन नसकेको बताए।
त्यस्तै शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले आफूले मेयरमा जिते लगतै सञ्चालका लागि नगरपालिका स्तरबाट सकेसम्म प्रयास गर्दै आएको बताए। अस्पताल सञ्चालनमा ढिलाई बारे जानकारी दिदै मेयर बरबरियाले भने तात्कालीन स्वास्थ्य मन्त्री पोखरेलको पहलमा मन्त्रिपरिषदको बैठकबाट देशका विभिन्न ७ वटा स्थान मध्ये डुमरियासमेत जिल्ला अस्पताल खोल्ने सौद्धान्तिक निर्णय गरिएको थियो । सो अनुसार बजेट पनि उपलब्ध गराएर भवन निर्माण गरियो । तर मन्त्रालयमा आवश्यक कागजात नरहेको कारण प्रक्रिया अघि बढन सकेन ।
सो अस्पतालको चार कोठे सुविधा सम्पन्न भवन अस्पताल सञ्चालनमा आउन नसक्दा जिर्ण अवस्थामा पुगिसकेको छ । सो अस्पतालका लागि स्थानीय गाउँलेले आ–आफ्नो जग्गा प्रदान गरेका थिए । नेपाल सरकारको ४ करोड लगानीमा अस्पतालको भवन निर्माण गरिएको थियो ।
वि.सं. २०६३ असोज ४ गते तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल शहिद सूर्यनाथ रानको नाममा अस्पताल बनाउने घोषणा गरेको थियो । सो घोषणा अनुरुप लामो समय पश्चात करिब ६ वर्षअघि अस्पतालको भवन बनेर तयार भएपनि सञ्चालन हुन नसक्दा स्थानीयको आश नै मरिसकेको थियो ।
स्थानीय रामगोविन्द रोहिताका अनुसार अस्पताल निर्माणको लागि पाँचजना किसानले दुई विघा जग्गा दान गरेका छन् । गतवर्ष मधेश प्रदेश सरकारले समेत उक्त अस्पताललाई ५० शैयाको जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।
२०७७ चैत २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेका अस्पताललाई ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको गरेको थियो । निर्णय बमोजिम अन्य अस्पतालहरु स्तरोन्नति भयो तर धनुषा जिल्ला अस्पताल डुमरिया सञ्चालनमा समेत आउन सकेन ।
अस्पताल सञ्चालनका लागि स्थानीयले पटक–पटक आन्दोलन पनि गरे । तर, सुनुवाई भएन । अहिले स्थानीय उपचारका लागि बाध्य भएर २५ किलोमीटरको दूरी तय गरेर प्रादेशिक अस्पताल जनकपुरधाम नै आउने गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया