मधेश

मधेशको प्रादेशिक अस्पतालका कर्मचारी आन्दोलनमा

सुभाष कर्ण |
चैत २५, २०७८ शुक्रबार १९:१० बजे

जनकपुरधाम– मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पताललाई नराख्न माग गर्दै प्रादेशिक अस्पताल जनकपुरधामका कर्मचारी तथा चिकित्सक आन्दोलनमा उत्रेका छन् ।

प्रादेशिक अस्पतालका कर्मचारी, चिकित्सकसहित नर्सिंङ क्याम्पसका छात्राहरु समेत प्रादेशिक अस्पताल र सो मातहतका नर्सिंङ क्याम्पसलाई मधेश विज्ञान प्रतिष्ठान अन्तर्गत नराखी स्वतन्त्र राख्नुपर्नेसहितका ३ बुँदे माग राखेर आन्दोलनमा होमिएका हुन ।


आन्दोलनरत प्रादेशिक अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले नारा जुलुससहित नगर परिक्रमा गर्दै प्रदेश सभा घेराउ गरेका थिए । ती आन्दोलनरतले सभामुख सरोजकुमार यादवलाई आफ्ना मागहरु सहितको ज्ञापन पत्र बुझाएका छन् ।  

आन्दोलनरत पक्षले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छुट्टै संस्था कायम गरी प्रादेशिक अस्पताललाई स्वतन्त्र राख्नुपर्ने, जनकपुर नर्सिङ क्याम्पसलाई प्रादेशिक अस्पताल मातहत नै राख्नुपर्ने तथा अन्यत्र नसार्न र र विकास समिति लगायत कर्मचारीलाई पूर्णरूपमा स्थायी गर्नुपर्ने माग अघि सारेका छन् ।

आन्दोलनमा सहभागी संघर्ष समितिमा आबद्ध प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. रामनरेश पण्डितले प्रादेशिक अस्पताललाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नराखी छुट्टै राख्नुपर्ने बताए । ‘हामी चिकित्सक वा कर्मचारी कुनै संस्थाको विरोधी होइनौं, दुवैको उद्देश्य र कार्य फरक फरक भएकोले छुट्टै स्वतन्त्र संस्था बनोस ।’ उनले भने ‘प्रादेशिक अस्पताल स्वतन्त्र भए प्रादेशिक अस्पताल प्रदेशकै केन्द्रिय अस्पताल बन्न सक्छ तर प्रतिष्ठानसँग गाभिए खिचडी जस्तै हुनेछ ।’

आन्दोलनमा सहभागी नर्सिंङ क्याम्पसका छात्रा एन्जिला शर्माले भनिन्–‘प्रतिष्ठानमा नर्सिंङ क्याम्पस राखिएपछि हामीले पढ्ने पीसीएल कोर्षको व्यवस्था छैन र नर्सिंङ क्याम्पस अन्यत्र सिरहा सार्न लागेको कारण आन्दोलनमा उत्रेका हौं ।’

नेपाल सरकार अन्तर्गत रहेको प्रादेशिक अस्पताल, देशमा संघीयता आएपछि प्रदेश सरकार मातहतमा गयो । प्रदेश सरकारले प्रतिष्ठान गरेपछि सो अस्पताल अहिले प्रतिष्ठान मातहतमा परेको छ । अस्पताल प्रतिष्ठान मातहत गएपछि तात्कालीन मेसु आफूले गरेको अनियमितता ढाकछोप गर्न आन्दोलन गराएको आरोप लाग्न थालेको छ ।
 

आन्दोलन किन ?

प्रादेशिक अस्पताल तथा प्रदेश भित्रका स्वास्थ्य सेवामा गुणस्तरीयता, स्वास्थ्य संस्थाको स्तरोन्नति तथा चिकित्सीय शिक्षा विकासका लागि प्रदेश सरकारले गएको वर्ष कात्तिक २५ गते मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा ऐन ल्याएको थियो ।

सो ऐन बमोजिम माघ १८ गते प्रतिष्ठानको गठन र पदाधिकारी नियुक्त गरी फागुन ५ गतेदेखि प्रादेशिक अस्पतालकै परिसरमा प्रतिष्ठान सञ्चालनमा ल्याइयो । अस्पतालका तात्कालीन मेसु डा. प्रमोद साहसहित सबै चिकित्सक तथा कर्मचारी खुशीपूर्वक प्रतिष्ठान गठनमा उत्साह देखाए ।
तर पछिल्लो साता मेसु डा. प्रमोद यादवको पद प्रतिष्ठानको ऐन बमोजिम स्वतः खारेज भयो । मेसु पद खारेजको साता नबित्दै डा. यादव पक्षका चिकित्सक श्याम यादवको नेतृत्वमा अस्पताललाई स्वतन्त्र कायम गर्नुपर्ने माग राख्दै आन्दोलनमा होमिएका हुन् ।

अस्पताल स्राेतका अनुसार मेसु पद गुमेपछि प्रतिष्ठानको निर्देशक बन्छौ भन्ने आश थियो, सो तीन दिनअघि डा. सिद्धीदात्री झालाई निर्देशक बनाउने तयारी सामाजिक विकास मन्त्रालयले तयारी थालेपछि डा. प्रमोद पक्षधर चिकित्सक तथा कर्मचारीहरु स्वयं र नर्सिंङ क्याम्पसका छात्राहरुलाई क्याम्पस सार्न लागिएको भन्दै प्रभावमा पारी आन्दोलनमा होमिएका हुन् ।

उता प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले भने आफ्ना हाली मुहाली कायम राख्न र विगतमा गरेका अनियमितता ढाकछोप गर्न तात्कालीन मेसुको निर्देशनमा उनका पक्षधरहरुले आन्दोलनमा उत्रेको बताए । डा. साहले भने ‘अहिले लेखा परीक्षण भइरहेको छ, अनियमितता बारे सबै दुधको दुध र पानीको पानी हुन्छ ।’ 
नर्सिंङ क्याम्पसलाई सार्न लागेको र उपचार महँगो बनाउने आरोपबारे डा. साह भन्छन्,  ‘क्याम्पस सार्ने अधिकार प्रतिष्ठानको होइन सरकार हो, सञ्चालन र व्यवस्थापनको अधिकार मात्रै हाम्रो हो ।’


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x