यी हुन् जनकपुरधामको मेयर पदका आकांक्षी
जनकपुरधाम– आगामी स्थानीय तह निर्वाचनको मात्र ३३ दिन बाँकी रहेको छ । मधेश प्रदेशमा ३२ वटा दलहरुले स्थानीय तहको निर्वाचनमा भाग लिने तयारीमा जुटेका छन् । सबै दलमा टिकटका लागि सकस शुरु भएको छ ।
मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहित ३२ दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएका हुन् ।
मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये जनकपुरधाम उपहानगरपालिका प्रमुख रहेको छ । प्रदेशका एकमात्र महानगरपालिका वीरगञ्जपछि प्रदेश राजधानी रहेको कारण जनकपुरधाम उपमहानगरपालिकामा सबै दलको नजर रहेको छ । दलहरुभित्र आकांक्षी धेरै भएको कारण दलरुलाई टिकट कसलाई दिने कसले जित्न सक्छ भन्ने सकस भएको छ ।
जनकपुरधाम उपमहानरको नेतृत्वका लागि प्रमुख दलहरुका दर्जनौँ उम्मेदवारहरुले आकांक्षा देखाएका छन् । यद्यपि अहिलेसम्म कुनै पनि राजनीतिक दलले आधिकारिक निर्णय गर्न सकेको छैन ।
जनकपुरधामको नगरप्रमुखमा जसपाबाट हाल मेयर रहेका लालकिशोर साहसहित ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । मेयर साहका साथै जसपाका नगर अध्यक्ष विष्णुदेव साह र प्रदेश सदस्य बजरंग यादवले आ आफ्नो पार्टी भित्र दाबेदारी प्रस्तुत गरेका छन् । विष्णुदेव यसअघि तात्कालीन समाजवादी पार्टीबाट मेयरका चुनाव लडेका थिए भने बजरंग यादवले अनुहार फेरेर नयाँ उम्मेदवार दिनुपर्ने भन्दै आफ्नो दाबेदारी गरेका छन् । तर मेयर साहले धेरै काम गर्न अहिले बांकी रहेकोले दाेहाेर्याउनुपर्ने भन्दै आएका छन् ।
‘अस्तव्यस्त रहेको जनकपुरधाम व्यवस्थित गर्न म सफल भएको छु,’ इकागजसँग उनले भने ‘जनकपुरधामको धेरै विकासका काम गर्न नसकेकोले त्यसलाई पुरा गर्न र जनताको चाहना अनुसार म जित्न सक्ने उम्मेदवार रहेकाले आफू टिकटमा दाबी गरेको हुँ ।’
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ४ जनाले आकांक्षा देखिएका छन् । लोसपाबाट प्रदेश सभा सदस्य परमेश्वर साह, वर्तमान उपमेयर रीता मिश्र, नगरअध्यक्ष मनोज चौधरी र वडाध्यक्ष जानकीराम साह सहितकाले पार्टी भित्र आआफ्नो दाबी प्रस्तुत गर्दै आएका छन ।
नेपाली कांग्रेसबाट ४ जना, एमालेबाट २ जना, नेकपा एकीकृत समाजवादी पार्टी र जनमत पार्टीबाट १÷१ जना नगरप्रमुखका लागि आकांक्षी देखिएका छन् । नेकपा माओवादी केन्द्रबाट कसैले अहिलेसम्म कसैले इच्छा देखाएको छैन ।
कांग्रेसबाट पछिल्लोपटक चुनाव लडेका मनोज साह, पूर्वमेयर बजरंग प्रसाद साह, किशोरी साह (भुल्ला) र नगरअध्यक्ष राकेश विक्रम साह आकांक्षी देखिएका छन् । यिनीहरु पार्टी भित्र लबिङ र धौडधूप गरिरहेका छन । मनोज साहले गत निर्वाचनमा म निकटतम प्रतिष्पर्धी रहेको कारण यस पटक आफू नै पाउनुपर्ने दाबी गरेका छन । त्यस्तै राकेश विक्रम साहले विकास निर्माणका लागि नेतृत्वको जिम्मेवारी युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने हो, गत चुनावमा स्वतन्त्रबाट उपमेयरको चुनाव लडेर अनुभव बटुलिसकेको कारण यस पटक निर्वाचनमा आफूले नै टिकट पाउनुपर्ने हो ।
पछिल्लो स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने जनकपुरधाममा नेकपा एमालेको आधार कमजोर देखिएको छ । तर पनि एमालेबाट मेयरका लागि २ जना आकांक्षी देखिएका छन् । एमालेबाट शिवशंकर साह हिरा र उमेश चौधरीले मेयर पदको टिकटका लागि लविङ शुरु गरेका छन् । हिराको नाम पार्टीबाट सिफारिस भएमा चौधरीले स्वतन्त्रबाट भए पनि चुनाव लड्ने अठोट लिएका छन् ।
एमाले नेतृत्वले आफूलाई अवसर दिए आफू उम्मेदवार बन्न तयार रहेको हिराले बताए । नेतृत्वले युवालाई अवसर दिनुपर्ने पक्षमा आफू रहेकोले पार्टीले आफूलाई अवसर दिने त्यसमा विश्वस्त रहेको समेत बताए । यता उमेश चौधरीले पछिल्लो निर्वाचनमा पार्टीबाट आफ्नो नाम मेयर पदका लागि सिफारिस भएकोले यस पटक आफू नै पाउनेपर्ने हो जितेर देखाई दिने दाबी गरेका छन् ।
यता, नेकपा एकीकृत समाजवादी पार्टीबाट जनकपुरधामको मेयर पदका लागि डा. अजय झा र जनमत पार्टीबाट बैद्यनाथ साहको नामसमेत चर्चामा रहेको छ । तर उनीहरुले अधिकारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेको छैन ।
यी दलहरुबीचको घम्साघम्सीमा स्वतन्त्रबाट समेत रमण कन्स्ट्रक्सनका सञ्चालक ठेकेदार बलराम महतोले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शनिबार उनले एक पत्रकार सम्मेलन नै आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सो कन्स्ट्रक्सले जनकपुरधाम नगर एडीबी परियोजना अन्तर्गतको सडक, धरहरा पुनः निर्माण लगायतका दर्जनौ संरचना निर्माण गरिसकेका छन् ।
उनले वर्तमान मेयरले विकास गर्न नसकेका कार्यहरु पुरा गर्ने र नगरमा फोहोर व्यवस्थापनदेखि स्मार्ट सिटीका लागि कार्य गर्ने अठोटसहित स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया