मधेश

प्रदेश-२ : भोज भतेरमै ४ करोड बजेट विनियोजन

सुभाष कर्ण |
कात्तिक २२, २०७७ शनिबार १०:२१ बजे

जनकपुरधाम : आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश-२ सरकारले प्रदेशसभाको भोज भतेरकै लागि करिब ४ करोड रुपैयाँँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको बजेट कार्यक्रम तालिका अनुसार प्रदेशसभाको सभामुख, उपसभामुख, सदस्य तथा सचिवाललयको भोजभतेर, भ्रमण तथा अतिथि सत्कारका लागि करीब ४ करोड रुपैयाँँ विनियोजन गरेको हो ।

सो बजेटको रातो किताबमा प्रदेशसभाको भोज भतेरका लागि दुई शीर्षकमा ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ भने प्रदेश सभाको वार्षिकोत्सवको लागि ५० लाख र सभामा हुने विभिन्न उत्सवमा भोज भतेरका लागि ४८ लाख रुपैयाँ छुटयाइएको हो । बजेटमा तलब भत्ता र भ्रमण खर्च बाहेक अन्य अतिथि सत्कारका लागि एक करोड ५८ लाख ५६ हजार रुपैयाँ विनियोजन गरेर ब्रम्हलुट नै मचाएको देखिन्छ ।


त्यस्तै विनियोजित बजेट अनुसार प्रदेश सभा सदस्यको अतिथि सत्कारका लागि १० लाख २० हजार, पदाधिकारीको अतिथि सत्कार तथा चियापनका लागि ४८ लाख, सचिवालयको अतिथि सत्कारका लागि १५ लाख र छुट्टै अतिथि सत्कारका लागि ३२ लाख ४० हजार रुपैयाँ बजेट छुटयाएको हो । सभामुख, उपसभामुख, सदस्य र कर्मचारी सहितको भ्रमणका लागि मात्रै एक करोड ५ हजार रुपैयाँ बजेट छुटयाइएको छ ।

रातो किताब अनुसार अनुगमन मूल्यांकनसहितको भ्रमणको लागि ३० लाख ९६ हजार, सभामुख, उपसभामुख तथा प्रतिनिधिको आन्तरिक भ्रमणको लागि ४५ लाख, सचिवालय कर्मचारीको भ्रमण २४ लाख र निजामति कर्मचारीको भ्रमणका लागि साढे ४र४ लाखको दरले ९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट छुटयाइएको हो तर सबै खर्च नै हुन्छ त्यो निश्चित नभएको सभामुख सरोजकुमार यादवले इकागजलाई जानकारी दिए । 'विशिष्ट व्यक्तिहरुको भ्रमण, सदन र समितिहरुको बैठकमा भर पर्छ यो अनुमानित मात्र हो,' सभामुख यादवले भने 'यदि रकम कम पर्न गएकोमा सदन रोक्न पाइएन यस्तो अवस्थामा रकमान्तर गर्नुपर्ने लगायतका समस्या हुन सक्ने भएकाले ४ करोड छुटयाइएको हो ।' सदन र समितिको बैठक ढिलो हुन गएमा वा लामो समयसम्म चल्ने भएको कारण प्रदेश सभा सदस्य र समिति सदस्यहरुको खाना नास्तासमेतको व्यवस्था गर्नुपर्ने भएकाले त्यसलाई पनि अतिथि सत्कारमै जोडिएको रकम बढी देखिन गएको सभामुख यादवले बताए ।

'अतिथि सत्कारको नाममा प्रदेश सभा मात्र होइन सरकार स्वयंले लुट मचाएको बुझिएको छ ,' नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने 'जसको विरोध हामी शुरुदेखि नै गर्दै आएका छौं । विगतमा अतिथि सत्कार मात्रै होइन कोरोना महामारी नियन्त्रण खर्च, विभिन्न विकास निर्माण कार्यको बजेटमा समेत मनपरी गरेकोमा खर्च हिसाब मांग्दै आएका छौं ।' 

सभामुख सरोजकुमार यादवका लागि संसदीय निर्वाचन क्षेत्र बाहेक कानून विपरित निर्वाचन क्षेत्र विकास कार्यक्रम शीर्षक राखेर ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको देखिएको छ । कानूनतः मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री लगायत सबै प्रदेश सभा सदस्यको एकमुष्ट रकम तोकि बजेट विनियोजित गरिन्छ । तर सभामुख यादवका लागि मुख्यमन्त्री कार्यालयबाट वितरित योजना बाहेक छुट्टै शीर्षक खडा गरी ३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको हो ।

प्रदेश सरकारका मुख्यमन्त्री सहित अन्य मन्त्रालय समेत विकास निर्माणको कार्यक्रम कटौती गरी भोग विलासिता र संवैधानिक व्यवस्था विपरित कार्यकर्ता पाल्ने उद्देश्यका साथ उपभोक्ता समितिमुखी बजेट प्रदेश सरकारले विनियोजन गरेको आरोप प्रतिपक्षी दलले लाग्दै आएका छन् ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x