मधेश

मिथिला राज्य आन्दोलनको १० वर्ष पूरा, आन्दोलन रोकियो, संघर्ष जारी

सुभाष कर्ण |
बैशाख १८, २०७९ आइतबार २१:६ बजे

जनकपुरधाम – मिथिला राज्यको माग गर्दै जनकपुरधाममा भएको आन्दोलनमा गराइएको बम विस्फोट घटनाको आज १० वर्ष पूरा भएको छ ।

२०६९ साल वैशाख १८ गतेकै दिन मिथिला राज्य संघर्ष समितिको आयोजना जनकपुरधामका रामानन्द चोकमा मिथिला राज्यको मांग गर्दै जारी आन्दोलनको क्रममा भएको बम विस्फोटमा परी ५ जना मिथिला अभियानीको मृत्यु भएको थियो ।


शान्तिपूर्ण धर्ना बसेको बेला बिहान करिब ११ बजे सुनियोजित रुपमा भएको बम विष्फोटमा परी मिनापकी कलाकार रञ्जु झासहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो भने दर्जनौ व्यक्ति घाइते भएको थियो ।

बम विस्फोट घटनामा पूर्व सांसद संजयकुमार साहसहितलाई मुख्य योजनाकारको आरोप लगाइएको थियो । अहिले उनीहरु जन्मकैदको सजायमा कारागार जीवन बिताइरहेका छन् भने घटनामा संलग्न रहेको आरोपमा मुकेश चौधरी, राजन मुक्तिलगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार अदालतबाट गरिएको थियो । जिल्ला अदालतमा २०७६ चैत १४ गते न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

पाँच जनाको ज्यान जाने गरी भएको आन्दोलनको १० वर्षको अवधिमा मुद्दा हराएर गएको छ । प्रदेशको नामाकरणपछि मुद्दा हराउँंदै गएको छ । मिथिला राज्यको माग कांग्रेसले उठाएपनि प्रदेशको नामाकरणको अन्तिम समयसम्म आफ्नो अडानमा थिए । तर प्रदेश सरकारमा भागबण्डा मिलेपछि कांग्रेस मिथिला राज्यको अडान छाडेर मधेश प्रदेशमा सहमति जनाए ।

प्रदेश सभामा प्रदेश नामाकरणको निर्वाचनमा मिथिला राज्यको मुद्दा छाडेर तीन मन्त्रालयको भाग लिएर मधेश प्रदेशमा सहमति जनाएको आरोप मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले लगाएका छन् ।

‘हामीले ज्यानकै बाजी लगाएर आन्दोलन ग¥यौं तर संघर्ष समितिका केही पदाधिकारी नै सत्ताको पछाडि लागेपछि अहिले हाम्रो मुद्दा कमजोर भएको हो तर हराएको छैन,’ उनले भने ‘मिथिला राज्यको लागि हाम्रो संघर्ष पहिला पनि जारी थियो अहिलेपनि जारी नै छ ।’

मिथिला राज्य आन्दोलनको १० औं बलिदानी दिवसमा मिथिला राज्य संघर्ष समितिका संयोजक कापडीले नेपालको संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको बताए ।

‘हामीहरुको सपना थियो, मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस् तर, मधेसीयाहरुको राजनीतिक नंगटोइ, कुटनीतिक बदमासीका कारण षडयन्त्रपूर्वक आन्दोलन रोकियो, तर मुद्दा हराएको छैन, संघर्ष हाम्रो जारी नै छ । उनले भने ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x