आचारसंहिता उल्लंघनबारे सरोकारवालाको चिन्ता
जनकपुरधाम - स्थानीय तह निर्वाचनको प्रचार प्रसारको क्रममा व्यापक रुपमा आचारसंहिता उल्लंघन भइरहेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन ।
बिहीबार जनकपुरधाममा संवाद समूह मधेश प्रदेशद्वारा आयोजित निर्वाचन आचारसंहिता र सञ्चारकर्मीहरुको भूमिका विषयक कार्यक्रममा सहभागी पत्रकारहरुले निर्वाचन आचारसंहिताले सञ्चारमाध्यममाथि अंकुश लगाउने प्रयास गरेको आरोप लगाए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारहरुलाई लागि प्रेस काउन्सीलले जारी गरेको आचारसंहिता रहेको अवस्थामा आयोगले ल्याएको आचारसंहिता सञ्चारमाध्यमलाई अंकुश लगाउने लगायतको प्रावधान राखेकोले कार्यान्वयनमा समस्या रहेको औल्याए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले कानुन विपरीत भारतीय गाडीहरुको प्रयोग, सार्वजनिक स्थलमा पर्चा पम्पलेट टाँस्ने, चर्को आवाजमा डिजे लगायत बाजामा चुनावी गीत बजाउने, प्रचारप्रसारमा बालबालिकाको प्रयोग र शक्ति प्रदर्शनको नाममा व्यापक रकम खर्च लगायतका आचारसंहिता उल्लंघनमा आयोगको ध्यानाकर्षण नहुनु तर सञ्चारमाध्यममा समाचार आउने बितिकै स्पष्टीकरण सोध्ने लगायतका कार्यले सञ्चारमाध्यको प्रेस स्वतन्त्रमा अंकुश लगाउने कार्य रहेको ठहर गरेका थिए ।
उनीहरुले कुनै उम्मेदवारले विगतमा भ्रष्टाचार अनियमितता वा अन्य कुनै आपराधिक घटना गरेको छ भने त्यो विपक्ष ठहरिने तथा कसैले आफ्ना कुरा राख्न चाहेमा पक्ष हुन जाने अवस्थामा आचारसंहितामा पक्ष वा विपक्षमा लेख्न नहुने व्यवस्था रहेको कारण सञ्चारकर्मीले अब त रमिता हेर्ने बाहेक कुनै विकल्प नरहेको कुरा राखेका थिए ।
पत्रकारहरुले प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सांसद, नियमनकारी निकाय मिडिया काउन्सीलका सदस्य लगायतकाले उम्मेदवारको भोट माग्दै प्रचार प्रसारमा प्रत्यक्ष रुपमा संलग्न हुने, सामाजिक सञ्जालमा पार्टीगत रुपमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कसले कारवाही गर्ने भन्ने प्रश्न उठाएका थिए ।
कार्यक्रममा मधेश प्रदेशका मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकारहरू पनि आफै निर्वाचन आचारसहिताको पालना गरेर अरूलाई पालना गर्नका लागि दबाब दिन जरुरी रहेको बताएका थिए । उनले सामाजिक सञ्जालमा मिडिया काउन्सिलका सदस्य वन्दना झाले गरेको पोष्टको विषयमा काउन्सिलको बैठक बसेर कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै आम सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले सप्तरी देखि पर्सा जिल्लासम्म आचारसंहिताको उल्लंघनको घटना अत्यधिक मात्रामा भइरहेकोमा चिन्ता व्यक्त गर्दै डीजे बाजा लगायतका आतंक रोक्नका लागि स्थानीय प्रशासनसँग आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झाले धनुषाबाट ६ जना पत्रकारले महासंघका सदस्य सदस्यता त्याग नगरेर उम्मेदवार बनेकाले उनीहरूको सदस्यता चाडै खारेज गर्नका लागि जिल्लाले निर्णय गरेर केन्द्रमा सिफारिस गर्ने जानकारी दिएकी थिइन ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले निर्वाचन आचार सहितको उल्लंघन पत्रकारहरूबाट पनि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिएका थिए ।
पत्रकार नित्यानन्द मण्डलको संयोजनमा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान सभापति अनिल मिश्र, कान्तिपुर पत्रिकाका श्यामसुन्दर शशी, ग्यालेक्सी टेलिभिजनका प्रतिनिधि किरण कर्ण, द नेपाल टपका जयन्त ठाकुर लगायतका पत्रकारहरुले आ आफ्ना धारणा राखेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया