बागमती

स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप नव जनजागृति क्लब सिमरा विजयी

इकागज |
जेठ १९, २०७९ बिहीबार १९:४५ बजे

मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट सुरू भएको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा बारा जिल्ला सिमराको नव जनजागृति क्लब विजयी भएको छ ।

हेटौंडा ५ स्थित पिप्ले रंगशालामा भएको उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सिमराले विजयी सुरुवात गरेको हो । नव जनजागृतिका लागि खेलको ८ औं मिनेट विवेक चौधरीले गोल गर्दै अग्रता दिलाए ।


खेलको दोस्रो हाफको ३४ औं मिनेटमा सिमराका क्रिपाकान्त चौधरीले गरेको गोल विजयी गोल बन्यो । प्रतियोगितामा सिमराका विवेक चौधरी ‘म्यान अफ दी म्याच’ घोषित हुँदै १० हजार प्राप्त गरे ।

यो सँगै सिमरा प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । भोलि शुक्रबार चितवनको विएफसी क्लब र काठमाण्डौको चर्च व्वाईज क्लबबीच खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्ने छन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् ।


Author

थप समाचार
x