बागमती

उत्पादन मितिभन्दा अगावै केक बजारमा

इकागज |
जेठ २३, २०७९ सोमबार १९:३६ बजे

मकवानपुर  - खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले सप्ताहव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस मनाइरहँदा उत्पादन मितिभन्दा अगावै उत्पादन बजारमा बिक्रीवितरण गरेको पाईएको छ । 

सिमित समयमा उपभोग गरिसक्नु पर्ने खाद्य पदार्थ उपभोक्तालाई झुक्याएर बजारमा कसरी बिक्री हुन्छ भन्ने यसले छर्लङ्ग पारेको छ । 


एकैपटक धेरै उत्पादन गरेर भण्डारण गर्ने र देखावटी रुपमा उपभोग्य मिति उल्लेख गर्ने गरेको तथ्य प्रस्ट देखिन्छ । मकवानपुरको थाहा नगरपालिका-२ को फ्रेन्डसीप बेकरी उद्योगले उत्पादन गरेको  केक उत्पादन मितिभन्दा अघिल्लो दिनमै बजारमा भेटिएको हो । 

उत्पादन मिति ७ जुन २०२२ लेखिएको र उपभोग्य मिति उत्पादन मितिले ७ दिन लेखिएको केक अघिल्लो दिन अर्थात् ६ जुन २०२२ मै बजारमा बिक्रीवितरण गरिएको भेटिएको थाहा नगरका बिर्खे अन्जानले जानकारी दिए । 

यता हेटौंडामा बजारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आजै बेकरी उद्योगीहरूसंग खाद्य स्वच्छता कसरी कायम गने भन्नेबारे अन्तरक्रिया गरिरहेको बेला थाहा नगरमा यस्तो केक भेटिएको हो । उपभोक्ता हित विपरीत हुने गरि र प्रचलित ऐन नियमका विरुद्ध हुने यस्ता उत्पादनमा निगरानी राखिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डाक्टर क्षितिज श्रेष्ठले बताए । 

भोलिपल्ट उत्पादन मिति रहेको खाद्य पदार्थ अघिल्लो दिनमै बजार देखिनुले यस्ता उत्पादनहरू कम्तीमा ३ दिन अघिबाट अघिल्ला मितिको लेबलमा तयारी अवस्थामा उद्योगमा भण्डारण हुन्छन् भन्ने अनुमान गर्न सकिने उपभोक्ता अधिकारीहरू बताउँछन् । 

`उत्पादन मिति गुज्रँदै जाँदा ढुसी लगायतको कारण पुरानो भनेर चिनिने केक जस्ता खाद्य पदार्थ त यसरी तयार गरिन्छ भने अन्य खाद्य पदार्थको उपभोग्य मितिमा के सत्यता होला ?`  एक उपभोक्ताले शंका प्रकट गरिन ।


Author

थप समाचार
x