बागमती

प्रदूषण बढेपछि हेटौंडामा आँखा अस्पतालमा भीड

इकागज |
चैत २०, २०७७ शुक्रबार ७:७ बजे

हेटौंडा : मकवानपुरमा धुलो र प्रदुषणको कारण नागरिकहरुको आँखा पोल्ने समस्यामा कमी आउन सकेको छैन । मकवानपुरमा प्रदुषण बढेपनि जंगलमा लागेको डडेलो नियन्त्रण आएको छैन । प्रदुषण नियन्त्रणको दीर्घकालिन उपायको खोजि गर्न सम्बन्धित निकायले तत्परता देखाएका छैनन् । 

प्रदुषणको जोखिममा हेटौंडा सहर कायमै रहँदा जिल्लाको सामुदायिक आँखा अस्पतालमा सेवाग्राहीहरुको भने चाप बढेको छ ।  आँखा जाँच गर्न जानेहरुको संख्या गएको एक हप्तादेखि बढेको अस्पताल प्रशासनले जनाएको छ । दैनिक तीन सय ५० जनाले सेवा लिइरहेको आँखा अस्पताल हेटौंडाका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले जानकारी दिए । ‘अधिकांश सेवाग्राही आँखाको एलर्जी र पोल्ने समस्या लिएर आउने गरेको छन्’ उनले भने ।  


यसका साथै नियमित आँखा जचाउँन आउने र फ्लोअप तथा आँखाको शल्यक्रिया गर्नेहरु आउँदा चाप बढेको उनले बताए । अस्पतालमा सातामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ ।  
आँखा अस्पतालले कोभिडको कारण दैनिक दुई सय जनालाई मात्र जाँच गर्दै आएकोमा पछिल्लो समय सेवाग्राहीको चाप बढेसँगै बिहान ७ बजेदेखि ११ बजेसम्म टोकन सिस्टम सुरु गरेको छ । सो समयमा आउने सबैको जाँच हुने गरेको श्रेष्ठले बताए । 

केही दिनदेखि आँखाले राम्रोसँग हेर्न नभएपछि जाँच गराउन आएको बताउँछिन् हेटौंडा–८ की सिता अधिकारी । ‘कोभिड सुरु भएदेखि नै आँखामा समस्या थोरै देखिए पनि केही दिनदेखि आँखा पोल्ने र आँशु आइरहन्छ । आँखा पोल्छ’ उनले भनिन् । 

उनीजस्तै आँखा अस्पतालमा समस्या लिएर आउने धेरै छन् । आँखाको सामान्य जाँचपछि दैनिक एक सय ५० जनाले चश्मा बनाएर लैजाने गरेको अस्पताल प्रशासनले बताएको छ । आँखा अस्पतालमा आउने सम्पूर्ण सेवाग्राही मध्ये  ५० प्रतिशत स्वास्थ्य बिमाका सदस्य रहेका छन् । बिमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एक पटकको लागि एक हजार रुपैयाँसम्म उपलब्ध हुन्छ । आफुलाई मन पर्ने चश्माको फ्रेम राख्न भने केही रकम थप गर्नुपर्ने अस्पतालले जनाएको छ । 
 


Author

थप समाचार
x