मध्य मनसुनमा राष्ट्रपति रनिङ शिल्ड हुँदै
मकवानपुर- एकातिर मनसुन सुरु भएको छ । अर्कोतिर बजेट सिद्याउने चटारो सुरु भएको छ ।
स्थानीय तह सहीद स्मृती गोल्डकप वर्षाको कारण २ दिन स्थगित हुँदा प्रतिदिन १ लाखभन्दा बढी अतिरित्त खर्च भएको थियो । यो यथार्थ जानकारी हुँदाहुँदै मनसुनको मध्यमा राष्ट्रपति रनिङ शिल्डको तयारी भएको छ ।
हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड वृहत् खेलकुद प्रतियोगिता सञ्चालन हुने तयारी भएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुन लागेको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपमेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
यसैगरी मकवानपुरको थाहा नगरपालिकामा असार ३ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पनि असारको दोस्रो सातामा प्रतियोगिता गर्ने तयारी हुँदै गरेको बुझिएको छ । सबै नगर र गाउँपालिकाहरूमा यो खेल असारको झरीमै हुने भएको छ ।
प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरी सहमति हुँदा सबैजसो पालिकाले मनसुन सुरु भएपछि प्रतियोगिता गर्ने गरेका छन् ।
जसले गर्दा खेलको प्रभावकारिताभन्दा बजेट सिद्याउने प्रतिष्पर्धा हुने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । हतार हतार मनसुनमा खेल हुँदा न विद्यालयहरूले आफ्नो तयारी गर्न भ्याउँछन्, न त आयोजकले खेलको प्रभावकारीतामा ख्याल गर्न सक्छ ।
'पालिकाले छुट्याएको बजेट फ्रिज नहोस् भन्ने हेतुले प्रतियोगिता गराउनै पर्ने बाध्यतालाई पन्छाउन गरिने यस्तो प्रतिस्पर्धाले स्थानीय तहमा खेलाडी उत्पादन हुन्छन् कि औपचारिकता मात्रै पुरा हुन्छ' थाहा नगरका एक खेलप्रेमीले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया