मनहरीमा विपद् व्यवस्थापन तालिम
मकवानपुर - सशस्त्र प्रहरी बल नेपाल नम्बर-१४ गण हेडक्वाटर मकवानपुरको आयोजनामा जिल्लाको मनहरी गाउँपालिकामा विपद् व्यवस्थापन तालिम सुरू गरिएको छ ।
विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा तालिम गरिएको हो । तालिमबाट स्थानीय तहमा विपद् व्यवस्थापन कार्यका लागि ज्ञान र सीपयुक्त स्वयंसेवक उत्पादन हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले विपद्का अवस्थामा विपद् न्यूनीकरणलाई थप टेवा पुर्याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताए ।
खनालले विभिन्न सरोकारवाला पक्षसँग सहकार्य गरी पहिलो चरणमा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुपाल्चोक जिल्लाका विभिन्न १० वटा पालिकाहरूमा दक्ष प्रशिक्षक कर्मचारीहरूद्वारा विपद् व्यवस्थापन अभिमुखीकरण तालिम सञ्चालन हुने उल्लेख गरे ।
सबै पालिकामा सशस्त्र प्रहरी बलले आयोजना गर्ने गरी नेपालका दक्ष प्रशिक्षकद्वारा विपद् व्यवस्थापन अभिमुखीकरण तालिम हुने छन् । तालिमद्वारा नै समाजमा अनुशासित र दक्ष जनशक्ति उपलब्ध हुने र तालिममा सिकेका सीपले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै फाइदा पुग्ने मन्त्री खनालले औँल्याए । सशस्त्र प्रहरी बल नेपाल परिवारको कार्यलाई मन्त्रालयको तर्फबाट सक्दो सहयोग रहने उनले जिकिर गरे ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले विपद् व्यवस्थापन तालिमले आपतकालीन अवस्थामा जोखिम र क्षति न्यूनीकरण गर्नमा मद्दत पुग्ने विश्वास रहेको बताए ।
तालिममा विपद् व्यवस्थापन, विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका, चट्याङ्ग, भूकम्प, आगो तथा आगो नियन्त्रण, भत्केका घरहरूबाट पीडितको खोजी तथा उद्धार, बाढी, पहिरो तथा उद्धार, सडक दुर्घटना, प्राथमिक उपचार, घटना अध्ययन लगायतका सैद्धान्तिक जानकारी र व्यवहारिक अभ्यास तथा डेमो प्रदर्शनी गरिएको थियो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा, मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया