बागमती

२० वर्ष पर्यटक बोकेको काजलकली पाँच महिनादेखि बेवारिसे

इकागज |
असार ६, २०७९ सोमबार १०:३१ बजे

चितवन- पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ति किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तिलाई भारत पुर्‍याउने गरेका छन् । 

दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ति अहिले बेवारिसे भएको छ । बेच्‍ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तिको जिम्मा नलिएपछि हात्ति बेवारिसे भएको हो । उक्त हात्ति पाँच महिनादेखि बिरामी छ ।


२० वर्ष पर्यटक बोकेको काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ । करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प नभएको पशु अधिकारकर्मी सुराजन श्रेष्ठले बताए । लामो समय पर्यटक बोकेर सौराहाको पर्यटन विकासमा योगदान दिएको हात्ति उपचार अभावमा मर्न लाग्नु दुर्भाग्य भएको उनी बताउँछन् ।

‘हात्ति बिरामी भएको पाँच महिना भइसक्यो । बेच्नेले जिम्मा नलिने र सरकारी पक्षबाट निकुञ्जले पनि जिम्मा नलिएपछि कुनै परीक्षण नै भएन’, उनी भन्छन्, ‘अहिलेसम्म के रोग लागेको हो भन्ने नै थाहा छैन । एक महिनामा मात्रै तीन पटक लड्यो । अहिले मर्न लागेपछि सामान्य प्राथमिक उपचार मात्रै गरिएको छ ।’

दर्ता भएका बन्दी हात्तिहरूको नामावलीमा काजलकलीको नाम नै नभएको उनले बताए । छ महिनाअगाडि उक्त हात्तिलाई भारत बेच्न लागिएको थियो । पहिलो पटकको प्रयास सफल नभएपछि एकै महिनामा दोस्रो पटक भारत लगिँदै गर्दा पुनः सिमानाबाट फिर्ता ल्याइएको हो । 

सो हात्ति अहिले होटल पार्क साइट नजिकै बिरामी भएर बसेको छ । चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले सो हात्ति सौराहाका व्यवसायी मधुकर रेग्मीको भएको पुष्टि गरे । रेग्मीले भारतका व्यापारीलाई बिक्री गरेपछि हात्ति सिमानाबाट फिर्ता ल्याइएको हो । निकुञ्जले बिरामी हात्तिको निगरानी गरिरहेको उनको भनाइ छ ।

रेग्मीले भने सो हात्ति आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । भीमकाय शरिर भएको हात्ति तीन पटकसम्म ढल्दा उसको शरीर घाउले भरिएको छ । काजलकलीको नेपाली साहु खोजेर उसलाई कारबाही गर्न पशु अधिकारकर्मी श्रेष्ठले माग गरेका छन् । 

‘एउटा बिन्ती छ कि, सम्बधित निकायले काजलकलीको नेपाली साहु को थियो भनेर छानबिन गरोस् । अनि उक्त व्यक्तिलाई कानूनी दायरामा ल्याएर सजाय दिइयोस्’, उनले भने । सौराहामा वन्यजन्तुको उपचार गर्न छुट्टै अस्पताल निर्माण गरिएको छ । उक्त अस्पतालबाट करिब आधा किमीको दूरीमा रहेको काजलकली भने उपचार नपाएर मर्नु दुःखद भएको उनी बताउँछन् ।


Author

थप समाचार
x