बागमती

राप्ती खोलाको बीचबाट बन्दैछ बाइपास सडक

इकागज |
चैत २१, २०७७ शनिबार ७:४७ बजे

हेटौंडाः बागमती प्रदेश सरकारले हेटौंडा-१ को राप्ती खोलाको बिचबाट बाईपास सडक निर्माण गरिरहेको छ । प्रदेश सरकारले चौकिटोलको झोलुङ्गे पुल नजिकैबाट राप्ती पुलसम्म २२ सय मिटर लम्बाईको बाइपास सडक निर्माण गरिरहेको हो । १० मिटर चौडा भएको सडक २ लेनको बन्नेछ । बाइपास सडक पिच नभएर ग्राभेल मात्र हुनेछ । 

खोलाको बिचबाट बाइपास सडक निर्माणको काम सुरु भएपश्चात स्थानीय गणेश पौडेल निकै खुशी थिए, घरमूनि फराकिलो बाटो आयो भनेर । बस्ती जोगाउन बाइपास सडकको भूमिका ठुलो हुने देखिएको छ । बाइसपास सडकको किनारामा तारजारी र ढलान भएपछि खोलाबाट बस्ती सुरक्षित हुनेमा उनी खुशि बनेका हुन् । 


यसअघिको पुरानो बाइपास सडक र अहिले बन्दै गरेको सडकको बिचका दुरी भने करिब ५० मिटरको अन्तर छ । पहिले खोलाको किनारबाट बाइपास सडक थियो । अहिले स्थानीयको नम्बरी जग्गा जोगाउँदा बाइपास सडक खोलाको बिचमा बन्न पुगेको हो । 

स्थानीयको नम्बरी जग्गा खोलामा परेको थियो । कुनै योजना नबन्दा सो स्थान बगर नै  थियो । एकाएक प्रदेशले बाइपास सडक निर्माण सुरु गरेपछि जग्गा विवाद भयो । स्थानीय आफ्नो जग्गामा बाइपास सडक निर्माण हुन नदिने भन्दै अदालतसम्म पुगेका थिए । बल्लतल्ल फर्काएर ल्याएको सम्झिन्छन् हेटौंडा–१ का वडाअध्यक्ष सबिन न्यौपाने ।

उनी भन्छन् जग्गा विवाद मिलाउन निकै कसरत गर्नुप¥यो । ‘आफ्नो नम्बरी जग्गा छोड्न मानेकै थिएनन् । उद्योग वाणिज्य संघमा पटकपटक आफ्नै नेतृत्वमा समिति बनाएर सहमतिमा ल्याए’ उनले भने । 

अहिले ८ देखि १० मिटरसम्म जग्गा स्थानीयले बाटोको लागि छोडेका छन् । प्रदेश सरकारले भने बाइपास सडकमा पर्ने जग्गाको क्षतिपूर्ति कसैलाई पनि दिएको छैन । फरक ठेक्कामा प्रदेशले राप्ती पुलदेखि हेटौंडा–१० को त्रिवेणी कुष्माण्ड धाम नजिकै सम्म १७ सय मिटरको बाइपास सडक निर्माणको काम अर्को प्याकेजमा गरिरहेको छ । 

दुई प्याकेज बनाएर बाईपास सडक निर्माण भइरहेको यातायात तथा पूर्वाधार निर्देशनालय बागमती प्रदेशको निर्देशक सहदेव भण्डारीले जानकारी दिए । चौकिटोलको झोलुङ्गे पुलबाट राप्तीपुलसम्मको बाइपास सडक आगामी कार्तिक २९ गतेसम्म सम्पन्न हुनेगरी १३ करोड ४४ लाख रुपैयाँको लागतमा बन्दैछ । कहिले जग्गा विवाद, कहिले प्रशासनिक कुरा  र कहिले ठेकेदारको कारण काममा ढिलाई भएको जानकारी दिन्छन् निर्देशक भण्डारी । अहिले दुवै ठेक्काको काम द्रुत काम भइरहेको उनले बताए । 

यस्तै राप्तीपुलबाट त्रिवेणी धामसम्म ८ करोड ४७ लाख रुपैयाँको लागतमा बाइपास सडक निर्माण भइरहेको छ । हेटौंडाको चौकिटोलबाट सुरु भएको बाइपास सडक ३९ सय मिटरसम्म बन्ने पक्का छ । तर त्रिभूवन राजमार्गसँग कहाँ जोड्ने भन्ने टुंगो लागेको छैन । बाइपासलाई अझै लम्बाउने या कर्रा किनारबाटै त्रिभूवन राजपथसँग जोड्ने कुरामा अन्यौलता देखिन्छ । हेटौंडा–१० कर्रा खोलाको किनार र हेटौंडा १५ रातोमाटेमा बाइपास सडक मुख्य राजमार्गमा जोड्न सकिन्छ ।  

बाइपास सडकको निरीक्षण गर्न स्थानीय जनप्रतिनिधी देखि प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल समेत पटकपटक निर्माणस्थलमा पुग्ने गरेका छन् । मुख्यमन्त्री पौडेल निर्माण कार्य स्थलमा पुगेर समयमै काम पुरा गर्न र गुणस्तरमा ध्यान दिन निर्देशन दिँदै फर्कने गरेका छन् । 


Author

थप समाचार
x