बागमती

सरकारले बजेट रोक्दा हेटौंडा अस्पतालमा समस्या

इकागज |
असार २२, २०७९ बुधबार १९:३१ बजे

मकवानपुर- संघीय सरकारले प्रदान गर्ने बजेट उपलब्धतामा ढिलाई हुँदा अस्पतालको सेवा प्रवाह समस्या भएको बताइएको छ ।

अस्पतालले वर्षमा १४ करोड बराबरको कारोवार गर्ने र हाल ९ करोड रूपैयाँ संघीय सरकारबाट रोकिँदा समस्या भएको हेटौंडा अस्पताल विकास समिति अध्यक्ष राजेश प्रसाइले बताए । अस्पतालको बारेमा व्यापक जनगुनासो आएपछि अनुगमनमा पुगेका हेटौंडा उपमहानगरपालिका नगर प्रमुख र उपप्रमुखसंग प्रसाईले यस्तो बताएका हुन् । संघीय सरकारबाट आउनु पर्ने पैसा आए सेवा र जनगुनासोलाई व्यवस्थापन गर्न सकिने उनकाे जिकिर छ ।


अहिले अस्पतालमा स्वास्थ्य बिमाको औषधि वितरणमा समस्या भएको उनले उल्लेख गरे । 'यो विषयमा समस्या ठेकेदारलाई पैसा दिन नसक्दा भएको हो,' उनले भने । औषधिको ठेक्का पारेको ‘एक्सिस्’ फर्मलाई ८० लाख रूपैयाँ दिन नसक्दा औषधि आउनै समस्या भएको उनले बताए ।

अस्पतालले दिने सेवामा भने समस्या नभएको उनको दाबी छ। अध्यक्ष प्रसाईले भने, 'सेवामा कुनै समस्या छैन, दैनिक बिरामीको चाप बढ्दो रहेपछि जनशक्ति व्यवस्थापनमा भने समस्या भएको छ ।'

विभिन्‍न समस्याका बावजुद जनताको समस्यालाई समाधान गर्न उपमहानगरपालिका तयार रहेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । अहिले देखिएको समस्यालाई कम गर्दै व्यवस्थापनको पाटोमा ध्यान दिन अस्पताल व्यवस्थापनलाई नगर प्रमुख लामाले आग्रह गरिन् ।

जनगुनासो धेरै भएको भन्दै त्यो रोक्ने पाटोमा लागेर काम देखाउन उपमहानगरको सहयोग रहने लामाले प्रतिबद्धता जनाइन् । उनले दैनिक आउने बिरामी उपचारविनै फर्कन पर्ने अवस्थालाई चिर्न जरूरी रहेको भन्दै अस्पताल परिसरमा उपमहानगरले प्रसूति बाल अस्पताल सञ्चालन गर्ने तयारी भैरहेको बताइन् ।

उपमहानगर जिम्मेवार ढंगबाट लागेको भन्दै व्यवस्थित स्वास्थ्य अवस्था बनाउनका लागि के गर्न सकिन्छ सहकार्य गरेर अघि बढ्न तयार रहेको उपप्रमुख राजेश बानियाँले बताए । उनले जनतालाई सुविधा दिने कुरामा उपमहानगरले कुनै कसर बाँकी नराख्‍ने जिकिर गरे ।    

हेटौंडा अस्पतालमा रहेको बेथितिको विषयमा जनस्तरबाटै हुँदै आएको दबाबपछि हेटौंडा उपमहानगरपालिकाले चासो लिएको हो । बुधबार हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले अस्पताल व्यवस्थापन समितिसँग अहिलेको अवस्थाको बारेमा चासो लिएका हुन् ।

बिरामीले टिकट, औषधी, उपचार पद्धतिको विषय लिएर जनस्तरबाट आएको आवाजलाई चासो लिँदै छलफल गरिएको हो । उपमहानगरमा भएको छलफलमा हेटौंडा अस्पताल सञ्चालक समितिका अध्यक्ष राजेश प्रसाईले आर्थिक अवस्थाको कारण समस्या भएको बताएका थिए । उनले केन्द्र सरकारबाट आउनु पर्ने स्वास्थ्य बिमा मार्फतको ६ करोड र कोरोनाको समयमा फिल्डमा खटिएका कर्मचारीको ३ करोड रूपैयाँ नआउँदा समस्या भएको बताए ।


Author

थप समाचार
x