स्थानीय तहबाटै ई-पासपोर्ट र राष्ट्रिय परिचयपत्रको फाराम भर्न सकिने
मकवानपुर- मकवानपुरमा स्थानीय तहबाटै विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको फाराम भर्न सकिने भएको छ । सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले मकवानपुरका १० वटा पालिकाबाटै फाराम भर्ने व्यवस्था मिलाएको हाे ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्नेको भिडभाड बढेको र साइबरहरूले मनपरी ढंगले रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहबाटै फारम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
स्थानीय तहहरूको सहयोग र समन्वयमा स्थानीय तहमै ई-पासपोर्ट र राष्ट्रिय परिचयपत्रको निःशुल्क अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयमा बिहीबारकाे पत्रकार सम्मेलनमा प्रजिअ पाण्डेले बताए ।
शुक्रबारबाटै जिल्लाको १० वटै स्थानीय तहबाट निःशुल्क ई-पासपोर्ट र राष्ट्रिय परिचयपत्रको लागि अनलाइन फारम भर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । इन्टरनेटको पहुँच भएकाहरूले घरबाटै फाराम भर्न सकिने छ । आफै अनलाइन फारम भर्न नसक्नेले आफ्नो पालिकाबाट निःशुल्क अनलाइन फारम भर्ने सेवा लिन जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेकाे सूचनामा भनिएकाे छ ।
‘आफ्नै स्थानीय तहमा निःशुल्क अनलाइन फाराम भर्न सकिन्छ,’ प्रजिअ पाण्डेले भने । मंगलबार जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग बैठक बसेर स्थानीय तहबाटै ई-पासपोर्ट र राष्ट्रिय परिचयपत्र लागि अनलाइन फाराम भर्न सकिने वातावरण मिलाइएको पाण्डेले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया