कोटेश्वर क्षेत्रको बागमतीबाट तीन मेट्रिक टन फोहोर व्यवस्थापन
काठमाडौँ- ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ कोटेश्वर महादेव मन्दिरको पश्चिम भागस्थित बागमती किनारमा सफाइ गरी तीन मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।
‘हामी सक्छौँ कुहिने र नकुहिने फोहोर छुट्याउन’ भन्ने प्रतिबद्धतासाथ अभियानकर्मी बागमती सफाइमा जुटेका थिए । आज बागमती सफाइ महाअभियानको ४७८ औँ हप्ता हो । सफाइमा काठमाडौँ महानगरपालिका–३२, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायतको संस्थागत सहभागिता थियो । प्रमुख अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, नागरिक समाज सिनामङ्गलका अध्यक्ष मोहन पराजुली सहितका पदाधिकारी, नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आले, वाग्मती फोहोर उन्मुलन उपभोक्ता समाजका पदाधिकारी, लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्ध, लियो क्लब अफ काठमाडौँ सिद्धार्थ गौतम बुद्ध, लायन्स क्लब काठमाडौं न्यु ग्रिन सिटि, लायन्स क्लब काठमाडौँ न्यू स्मार्ट सिटि , आलोक नगर सरसफाइ संयोजक प्रमिला पौडेल, बानेश्वेर महिला फोहोर व्यवस्थापन प्रालिका अध्यक्ष दुर्गा दुलाल, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, स्थानीयवासी, विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं बागमती सफाइ अभियानकर्मीको पनि सफाइमा सक्रियता थियो ।
सफाइका क्रममा तीन वटा समूहले टोल टोलमा गएर त्यस क्षेत्रका प्रत्येक घरमा फोहोर वर्गीकरण गरेर मात्रा व्यवस्थापन गर्न अनुरोध गरिएको थियो । सडकमा फोहोर नफाल्न र प्रत्येक पसलले पसल आगाडि सडकमा सामग्री राखी नागरिकलाई पैदल हिँड्न बाधा नपुर्याउन अनुरोधसमेत गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइ महाअभियानको अनुरोध नमानी बाधा अवरोध खडा गरेमा महानगरपालिकाले दण्ड जरिवाना गरिने जानकारी समेत सो अवसरमा गराइएको उनले सुनाए । एक समूहले भने वाग्मती नदीमा पसेर फोहोर व्यवस्थापन गरेको थियो ।
विसं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर १०९ भन्दा बढी स्थानमा सफाइ भइरहेकोे छ । सफाइ महाअभियान देशव्यापी जागरण फैल्याउन सफल भएको छ । यसैगरी आज गुह्येश्वरीमाथिको बागमतीलगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ ।
नागरिकस्तरबाट स्वयंसेवी रुपमा सुरु भएको साप्ताहिक सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारले फोहोर व्यवस्थापन नगर्दा समस्या भएको स्थानीयवासीको गुनासो छ । राजधानीका विभिन्न स्थानमा अहिले पनि फोहोरको थुप्रो छ । फोहोर व्यवस्थापनमा स्थानीय सरकार असफल हुँदा हैजाजस्ता रोग फैलिएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया