गर्मी तथा वर्षायामका कारण संक्रामक रोगको जोखिम बढ्दो : स्वास्थ्य मन्त्री लामा
फाइल फोटो
हेटौंडा - बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समय देशभर कोभिड–१९ को सङ्क्रमणसँगै प्रदेशमा गर्मी तथा वर्षायाममा देखापर्ने सङ्क्रामक रोगको पनि जोखिम रहेको बताएका छन् ।
आज बागमती प्रदेशसभाको बैठकमा सार्वजनिक महत्वका विषयमा मन्त्री लामाले रोकथामको तयारीका साथै प्रदेशमा सचेतना फैलाउन ध्यान दिनुपर्ने बताएका हुन् । उनले हालै काठमाडौँ उपत्यका तथा अन्य केही सहरमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणका क्रममा हैजासमेत देखिएको बताए ।
उनले पछिल्लो जानकारीअनुसार ३४ जनामा हैजा देखिएकामा पाँच वर्षसम्मका बालबालिका तीन जना रहेको जनाए । हाल प्रदेशमा दैनिक २३४ जनामा कोरोना सङ्क्रमण भइरहेको जनाए ।
मन्त्री लामाले सङ्क्रमण दर नियन्त्रण गर्नका लागि प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा कोभिडविरुद्धको खोप अभियान तीव्र रुपमा सञ्चालन गरिरहेको जानकारी दिए ।
उनले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोपको साथसाथै आम नागरिकमा सचेतना फैलाउन अति आवश्यक रहेको बताउँदै सम्पूर्णमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न र कोभिडविरुद्धको खोप लगाउन अनुरोध गरे ।
यसैगरी मन्त्री लामाले विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्स रोगलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको बताउँदै नेपालमा पनि उक्त रोग आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आवश्यक रहेको बताए ।
उनले सङ्क्रामक सरुवा रोगको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन पर्ने बताए । मन्त्री लामाले कोभिड–१९ र मंकीपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेँगु, स्क्रबटाइफस आदि जस्ता मौसमजन्य एवं फैलदो रोगको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय सरकारसँगको समन्वयमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पूर्णरुपमा तयारी अवस्थामा रहेको जानकारी दिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया