बागमती

सडकमा बस्‍न नपाउँदा त्रिपालमा बास

इकागज |
चैत २८, २०७७ शनिबार ८:१६ बजे

हेटौँडा : हेटौँडा बजारको सडकमा बस्‍न नदिएपछि भारतीय २० जनाको परिवार हेटौंडा-११ स्थित थानाभर्‍याङको तौलपुल नजिकै बस्दै आएका छन् । दिल्ली घर भएका राजु तेलवाला नामले चिनिने राजु त्रिपालमूनि विगत २ वर्षदेखि बस्दै आएका हुन् । उनीसँगै ३ वटा त्रिपाल मूनि चार परिवार बसेका छन् । तीन दाजुभाईको परिवार र भिनाजुसँगै बस्दै आएका हुन् । ३ दाजुभाई र भिनाजुको गरी १४ जना छोराछोरी त्रिपाल मुनि बस्छन् । 

पढ्न, लेख्‍न विद्यालय जानुपर्ने समयमा त्रिपाल मूनि बसेर ती बालबालिकाहरू दिनभर समय काट्छन् । ‘जिउ दुखेको, टाउको दुखेको, हाडजोर्नि दुखेको दुखाई कम गर्ने जडिबुटीको तेल बेच्‍न आफुहरूसँगै केही बच्चाहरू लैजाने गरेको छु । विद्यालय त आफुले पनि पढिन । बालबच्चा पढाउन थाल्यौ भने के खाने हामीले ? खानलाई पुग्दैन । यही त धौ धौ छ’ उनले भने ।


दिल्लीबाट ल्याएको तेललाई अस्पतालबाट फालिएको औषधिको बोतल टिपेर ल्याई सफा गरेर तेल भरेर बेचेर आफ्नो जिविका चलाई रहेका छन् राजु । परिवार सबैको मुख्य पेशा हो तेल बेच्‍ने । त्यही भएर आफुलाई तेल बेच्‍ने भनेर धेरेले चिन्‍ने गरेको राजु बताउँछन् । अहिले कहिले मनहरी, हेटौँडा बजार तथा अरु केही स्थानहरूमा आफुहरू तेल बेच्न जाने गरेको उनले सुनाए । उनी आफु थोरै पढे लेखेको भए पनि बजारबारे राम्रै जानकार भएको बताउँछन् । 

उनले बेच्‍ने तेलमा कत्तिको शुद्धता छ बास्तिक जडिबुटीको तेल हो या होइन यसमा धैरै शंका छ । हालसम्म कुनै प्रयोगशाालमा त्यस्ता तेलहरू जाँच भएको छैन । अधिकांश ग्राहकहरू निको भईहाल्छ की त्यस्ता तेल प्रयोग गर्छन । राजुको पुरा परिवार नै यो व्यवसायमा आबद्ध छ । जहाँ मानिसहरूको चहलपहल हुन्छ । त्यहाँ सानो स्थान ओगटेर तेल बेच्‍न सुरु भइहाल्छ । विगत २ वर्षदेखि हेटौँडा बजार र मनहरी क्षेत्रमा राम्रो व्यापार भएको कारण मकवानपुर जिल्ला छाड्नु नपरेको उनको भनाई छ । उनीहरू एकै स्थानमा लामो समय बस्‍न सक्दैनन् ।  यसअघि उनीहरू दमक, बिर्तामोड, धादिङलगायतका विभिन्‍न जिल्लाहरू घुमेर आइसकेका छन् । पहिले उनीहरू कुनै एक जिल्ला जान्छन् । त्यहाँ एक महिनासम्म बजार डुल्छन् । तेल बेच्‍ने काम गर्छन । तेल बिक्रि नभए भने उनीहरू आफ्नो बासस्थान परिवर्तन गर्छन । 

उनीहरू पहिले हेटौंडा बजार आसपास बस्‍ने गरेका थिए । नगर प्रहरीले हेटौंडामा बस्न नदिएपछि उनीहरू थानाभर्‍याङमा त्रिपाल टांगेर बस्नुपरेको उने बताए । प्रहरीले पनि  बसेको स्थानमा आएर कहिलेकाही धेरै किचकिच गर्ने गरेको उनको भनाई छ । उनीहरूको त्रिपाल नजिकै अर्का क्रिपाल छ जहाँ बस्छिन् सिता राना मगर । उनी हेर्दा भर्खरकी छिन् । ३० वर्ष नकाटेकी सिताको ६ वटा बालबच्चा छ । एक छोरा सहित ५ वटा छोरीहरू छन् । ३ वटा आफुसँग र ३ वटा आफ्नो आफन्तसँग बस्‍ने गरेको उनले बताइन । उनको घर हेटौंडाको रातोमाटेमा छ । सासू बितेछि ससुराले अर्का बिहे गरेर भारत हिडेपछि आफुहरूको बिचल्ली भएको उनले बताइन् ।

‘श्रीमानको कुल्ली काम गर्दा खुट्टामा चोट लाग्यो । देख्दा खाइलाग्दो हुनुहुन्छ तर काम गर्न सक्नुहुन्‍न । आफ्नो सानो बच्चा छ कुल्ली काम गर्न कसैले बोलाउँदैन । सँगै लिएर जाँदा काम गर्न गार्‍हो हुन्छ ।’ उनले दुखेसो पोखिन, ‘काम गर्ने बेला पैसा बचाउन सकिएन । बालबच्चालाई खुवाउँदै ठिक्क भयो । घरभाडा तिर्न नसकेपछि त्रिपालमा आएर बस्‍न अहिले बाध्य भयौं ।'

उनी नजिकै अर्को त्रिपालमा बस्छन् विगु महत । उनी विरगञ्ज निवासी हुन् । विरगञ्जको घरमा परिवार छ । ‘उमेर हुँदा विरगञ्जमा रिक्सा चलाउँथे । नसकेपछि मागेर जीवन चलाउदै छु’ उनले भने ।  श्रीमती प्रत्येक हप्ता पैसा लिन आउँछिन् । एक हप्तासम्म मागेर १० रुपैयाँ, २० रुपैयाँ जम्मा गरेर राख्छु श्रीमती आएपछि पठाउँछु । उनी शारीरिक रुपमा स्वस्थ्य छैनन् । घरमा ग्याँस विस्फोट हुँदा हात जलेको उनको दाबी छ । 

उनलाई शुक्रबार हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले मानव सेवा आश्रममा गएर बस्‍न आग्रह गर्दा उनी मानेनन् । उनले आश्रममा आफु बस्दा आफुलाई खान बस्‍न पुगे पनि परिवार पाल्नुपर्छ भनेर आश्रममा नगएको बताए । उनले आफुले मागेको पैसाबाट आफ्नो परिवारले चलेको भन्दै आश्रममा जानुको सट्टा खुला आकाश मुनि बस्‍ने बताए ।


Author

थप समाचार
x