बागमती

न घर, न नागरिकता : सडक भरोसामा वृद्ध दम्पति !

वृद्धभत्ता दिलाउने मेयरको वचन

इकागज |
चैत ३०, २०७७ सोमबार ७:४२ बजे

हेटौंडाः उमेरले ७० वर्ष लागे, श्याम बहादुर । काम गरेर खान सक्ने अवस्था छैन । दुई छाक टार्न उनलाई धेरै मुस्किल छ । श्यामबहादुर थापासँगै कान्छी श्रीमती र एकजना सानैबाट पालेको छोरासँगै बस्छन् । उनीहरु एक सार्वजनिक भवनमा बस्छन् । माथि जस्तापाताले थेगेको छ । अरु सबैतिर खुल्ला । विगत पाँच वर्षदेखि श्यामबहादुर सोही भवनमा श्रीमती र छोरासँगै बस्दै आएका छन् । 

कमला आँखा देख्दिनन् । तर पनि उनले श्यामबहादुरको संसार धानेकी छिन् । भन्छिन्, ‘आँखा देख्न सके अझै काम गर्न सक्छु । आँखा देख्न सक्दा हेटौंडाको शाह मेडिकलमा भाडा माझ्ने गर्थे । पाँच वर्ष भयो यसरी नै जिवन चलिरहेको छ’ उनले भनिन । 


विगतमा तीन ठाउँमा काम गर्ने कमला अहिले आँखा देख्न नसक्ने हुँदा थकित छिन् । वरपरको आवाज सुनेर पहिचान गर्नुपर्ने बाध्यता उनमा छ । दिसापिसाब गर्न, हिडडुल गर्न सहारा चाहिन्छ । 
हेटौंडामा मागेरै श्यामबहादुर परिवारको पेट पालिएको छ । ‘बिहान उठ्यो, माग्न हिँड्यो । माग्दा कसैले पैसा दिए चामल किनेर ल्याएर खान पाइन्छ । नत्र भने भोकै’, ७० वर्षीय श्यामबहादुर पीडा पोख्छन् ।

उनीहरुले पालेको छोराको हविगत पनि कमलाको भन्दा फरक छैन् । उनको मानसिक सन्तुलन सन्तुलित छैन । तर पनि साथ छाडेको छैन । उनीहरुका लागि त्यही छोरा संसार हो । सहारा हो । आड भरोसा हो ।

आफ्नो छोरा भने परिवारसहित कमानेमा बस्छन् । उनको छुट्टै परिवार छ । बालबच्चा छन । छोराले महिनामा एकपटक भेट्न आउने गरेको श्यामबहादुर बताउँछन् । ‘आउँदा गुन्द्रुक, चामल, तरकारी लिएर आउने गर्छ’ उनले भने । 

श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता साथमा छैन ।  श्रीमान श्यामबहादुरले हेटौंडा ५ बाट नागरिकता लिएका थिए । अहिले हरायो । काठमाडौंको गोकर्णमा जन्मेका श्यामबहादुर १४ वर्षको उमेरदेखि नै हेटौंडामा आएर काम गरे । रिक्सा चलाए । भारी बोके । अहिले मागेर खानुपर्छ । भन्छन्, ‘खानलाई पाए हुन्थ्यो ।’

यसअघि उनीहरुलाई हेटौंडा उपमहानगरले ६ धुर जग्गा दिएपनि दुवैले नलिने निर्णय गरेका थिए । मागेर खानुपर्दा उपमहानगरले दिएको जग्गामा घर बनाउन नसकिने उनको कथन थियो । उनीहरुको अवस्थाको बारेमा हेटौंडा – ११ का जनप्रतिनिधिलाई जानकारी दिए पनि उनीहरुबाट कुनै सहयोग हुन सकेन । 

हेटौंडा उपमहानगरपालिकाले उनीहरुलाई चामल, नुन तेल सहयोग गरेको छ । कमलाको आँखाको उपचार गर्ने प्रतिबद्धता उपमहानगरका मेयर हरिबहादुर महतले जनाएका छन् । साथै उनीहरुको नागरिकता बनाउन पहल गर्ने र सामाजिक सुरक्षा भत्तामा समावेश गर्ने वचन पनि महतले दिएका छन् । तर नागरिकता र भत्ता पाउने कहिले ? टुंगो छैन । 
 


Author

थप समाचार
x