बागमती

सामुदायिक विद्यालयका कर्मचारीहरूकाे आन्दोलनमा मकवानपुरको ऐक्यबद्धता

इकागज |
भदौ ४, २०७९ शनिबार १७:१४ बजे

मकवानपुर- सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूकाे आन्दोलनमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, मकवानपुरले ऐक्यबद्धता जनाएको छ । 

नेपाल सरकारका विभिन्न सेवा समूहमा कार्यरत समान तहका कर्मचारीहरूको तलब भत्तालगायतका सुविधा आफूहरूले पनि पाउनु पर्ने माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको आन्दोलनमा मकवानपुर शाखाले पनि ऐक्यबद्धता जनाएको जिल्ला सचिव डिबी बर्तौलाले बताए । 


नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको आह्वानमा आन्दोलन गरिएको हो । शिक्षा ऐन २०२८, को १६ को ‘ठ’ बमोजिमको सेवा सुविधा र हक अधिकारका लागि मुलुकभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले भदौ १ गतेदेखि गरेको आन्दोलनलाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, मकवानपुरले समेत आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । 

आज नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, मकवानपुरले विज्ञप्ती जारी गर्दै आन्दोलन प्रति ऐक्यबद्धता जनाएको प्रचार विभाग प्रमुख डिबी बर्तौलाले जानकारी दिए । 'जिल्ला समिति मकवानपुर उक्त आन्दोलनात्मक कार्यक्रमको पूर्ण समर्थन गर्दै कर्मचारीहरूको माग प्रति ऐक्यबद्धता व्यक्त गर्दछ,' प्रकाशित विज्ञप्तीमा भनिएको छ । 

'नेपाल सरकारको विभिन्न सेवा तथा समूहमा कार्यरत समान तहका कर्मचारीहरूको तलब, भत्ता तथा सेवा सुविधाहरूमा रहेको असमानताले सबैभन्दा बढी प्रभावित गरेको समग्र शैक्षिक क्षेत्रका जनशक्तिहरू मध्ये सामुदायिक विद्यालयहरूमा कार्यरत कर्मचारीहरू (विद्यालय कर्मचारी सहायक-लेखापाल र विद्यालय सहयोगी) को मानमर्दन हुने खालको गतिविधिहरू नेपाल सरकारबाट हुँदै आइरहेको महसुस गरेका छौं,' जिल्ला समिति, मकवानपुर अध्यक्ष श्रीराम दाहाल तथा सचिव मुकुन्द न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । 

सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरूको साझा पेसागत संगठनको रुपमा स्थापित नेपाल विद्यालय कर्मचारी परिषदको आह्वानमा भदौ १ गतेदेखि विभिन्न मागहरू राखि विद्यालय कर्मचारीहरू शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा अनिश्चितकालीन धर्ना, तालाबन्दी तथा अन्य आन्दोलनका कार्यक्रमहरूमा सहभागी भइरहेको प्रचार विभाग प्रमुख समेत रहेका बर्तौलाले बताए । 

नेपाली शिक्षकहरूको पेसागत संघ, संगठनहरूको अगुवाइमा मुलुकको विभिन्न कालखण्डमा भएका आन्दोलन र धर्नाका कार्यक्रमहरूको उपलब्धि स्वरूप नेपाल सरकार र आन्दोलनकारीबीचमा भएको सम्झौता कार्यान्वयन नहुनु, उच्चस्तरीय आयोगको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा लागू नगर्नु, तमाम शिक्षकहरूको समस्या समाधानका लागि नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका वार्ता तथा सम्झौताहरूलाई सरकारले बेवास्ता गरेका कारण नै तमाम सामुदायिक विद्यालयहरूमा कार्यरत कर्मचारीहरु आन्दोलित हुनु परेको विज्ञप्तीमा भनिएको छ । 

कर्मचारीहरूको आन्दोलनलाई थप उचाईमा पुर्‍याउन आवश्यक पर्ने साथ र सहयोग समितिबाट सदैव प्राप्त भइरहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । आन्दोलनबाट कति पनि विचलित नभई माग पूरा गराउन तमाम विद्यालय कर्मचारीहरू एकजुट हुनु आग्रह गरिएको छ ।

कर्मचारीहरूको जायज माग पूरा गरी आ-आफ्नो काममा फर्कने वातावरण सृजना गरिदिन नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला निकायलाई समेत विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।


Author

थप समाचार
x