दुई महिनामा १७५ सवारीलाई कारबाही, रोकिएकाे छैन नदीजन्य उत्खनन
मकवानपुर- ढुंगा गिट्टीलगायत नदीजन्य पदार्थ उत्खनन रोक लगाइएको भए पनि मकवानपुरमा पूर्ण रूपमा रोकिएको छैन । यसबारे प्रहरी, प्रशासन र हेटौंडा उपमहानगरपालिकाले आफ्नो तवरबाट निगरानी गरिरहेको दाबी भने गरेको छ ।
रातको समयमा उत्खनन गर्ने र पुरानो भण्डारण स्थलमा राखेर ओसारपसार गर्ने गरिएको स्थानीय हरिबहादुर श्रेष्ठले बताए । 'दिउँसो अनुगमन आउँछ, जान्छ, यहाँ खान्ने र थुपार्ने काम रातभर चल्छ,' उनले भने । नदीजन्य पदार्थको उत्खनन प्रतिबन्ध लगाइएको भए पनि स्थानीय जनप्रतिनिधिहरूको समेत अघोषित आम्दानीको स्रोत नदी भएको उनकाे भनाइ छ ।
प्रतिबन्धात्मक अवस्थामा नदीजन्य पदार्थ उत्खनन गरी ढुवानी गरेको आरोपमा २०७९ असार र साउनमा १७५ वटा गाडीहरूलाई कारबाही गरिएको थियो । अनधिकृत रुपमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी ढुवानी गर्ने ट्याक्टर र टिपरलाई कारबाही गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाले असार र साउन दुई महिनामा एक सय ७५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिकाको राजस्व शाखाका अधिकृत दिपेन्द्र ढकालका अनुसार असारमा ९० वटा सवारी साधन र साउनमा ८५ वटा सवारी साधनले नदीजन्य पदार्थ चोरी निकासी गरेको अवस्थामा नियन्त्रणमा लिएको हाे ।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी ढुवानी गर्ने ट्याक्टरलाई पहिलो पटक ५ हजार रुपैयाँ जरिवाना गरेर नदीजन्य पदार्थ जफत र दोस्रो पटकमा १० हजार रुपैयाँ जरिवाना उपमहानगरपालिकाले गर्ने गरेको छ ।
यस्तै टिपरलाई पहिलो पटकमा १० हजार रुपैयाँ र दोस्रो पटकदेखि २० हजार रुपैयाँका दरले जरिवाना गर्ने गरिएको छ । तर, यस्तो जरिवानाले मात्रै ओसारपसार कार्य पूर्ण नियन्त्रणमा भएकाे छैन । असार र साउन दुई महिनामा हेटौंडा उपमहानगरपालिकाले नदीजन्य पदार्थ चोरी निकासी गर्ने सवारी साधनबाट ९ लाख ५५ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । भदौ महिनामा पनि नदीजन्य पदार्थ उत्खनन गर्न रोक नै छ । हेटौंडा उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख श्यामकुमार श्रेष्ठले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्ने कार्य नियन्त्रण गर्न सुरक्षाकर्मीसहित सम्भावित क्षेत्रमा अनुगमन गर्ने गरिएको बताए ।
दिउँसो मात्रै नभई रातीको समयमा समेत उपमहानगरपालिकाको राजस्व शाखाका अधिकारीको सहभागितामा अनुगमन हुने गरेको शाखा प्रमुख श्रेष्ठले दाबी गरे । तर, मध्यरातमा मज्जाले हुने उत्खनन नगरपालिकाले नदेख्ने गरेको स्थानीय बताउँछन् । 'राती त सधैं खन्ने र ओसार्ने काम हुन्छ, बिहानी हुँदा चाही सबै गाडीहरू आ-आफ्नो ठेगानमा पुग्छन्,' श्रेष्ठले भने ।
मकवानपुरको हेटौंडा आसपास, चुरे क्षेत्र, राप्ति नदीबाट बढीजसो नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा चोरी निकासी हुने गरेको छ । यसैगरी मकवानपुर जिल्लाको अन्य नदीहरूमा पनि चोरी निकासी हुने गरेको छ । चोरी निकासी हुँदै गरेको अवस्थामा बरामद गरिएका नदीजन्य पदार्थलाई हेटौंडा उपमहानगरपालिकाले हेटौंडा-२ स्थित कृषि सामग्री संस्थानको खाली जमिनमा राखेको छ ।
यो नदीजन्य पदार्थ असोज महिनापछि नगरपालिकाले लिलामी गर्ने राजस्व शाखाले जनाएको छ । कडा निगरानीका साथ अनुगमन गरेमा अझै धेरै सवारीले कारबाही भोग्ने छन् । व्यवसायीहरूले असार अघि नै भण्डारण गरिएको स्थानबाट ढुवानी गरिएको भन्ने रेडिमेड उत्तर अनुगमन टोलीलाई दिने गरेका छन् । प्रहरी प्रशासन र अनुगमनमा सहभागी हेटौंडा उपमहानगरपालिकाको टोलीले यसैमा विश्वास गर्ने गरेको देखिन्छ । अनुगमनलाई कडाइ गर्दै भण्डारण स्थलको मौज्दात समेत निगरानी गर्न सरोकारवालाहरूले दबाब दिँदै आएका छन् ।
गत वर्ष नदीजन्य पदार्थको उत्खनन रोक नलगाइएको बेला तोकिएको भन्दा बढी उत्खनन गरेको भन्दै जिल्ला समन्वय समिति मकवानपुरले एउटा कम्पनीलाई ७३ लाख जरिवाना गरेको थियो । हेटौंडा उपमहानगरपालिका भित्र तोकिएभन्दा धेरै नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै जिल्ला समन्वय समिति मकवानपुरले मोतिदान कन्ट्रक्सन सेवा प्रालिलाई ७३ लाख १३ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया