प्रदेशको युवालाई मासिक ५० हजार कमाउने बनाउँछौँ : मुख्यमन्त्री पाण्डे
फाइल फोटो
हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने बताएका छन् । बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकमा उनले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण दिएर पहिलो चरणमा १० हजार जनशक्ति उत्पादनको कार्यक्रम राखेको जानकारी दिए ।
उनले उच्च प्रविधिको मेसिन सञ्चालनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र आफ्नो देशको युवा खाडीमा कठिन श्रम गर्न बाध्य हुनुपर्ने अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्ने योजना बनाएको प्रष्ट्याए । अब पहिलो प्राथमिकता दक्ष युवा उत्पादन गर्नु रहेको उनको भनाइ छ । घरमा स्नातकोत्तर सकेर बसेका छोराछोरी भए पनि सामान्य मेसिन बिग्रँदा र पानीको पाइप कस्नुपरेमा पनि समस्या हुनु भनेको शैक्षिक प्रणालीमा समस्या रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
कच्चा पदार्थ प्राप्त हुने स्थान नजिकै उद्योग खोलेर उद्योग ग्रामको विकास गर्नुपर्ने उनको भनाइ छ । कच्चा पदार्थ टाढाबाट ढुवानी गरेर उत्पादन गर्दा लागत मूल्य बढ्ने मुख्यमन्त्री पाण्डेले जनाए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले औद्योगिक क्षेत्र, करको दायरा, ऊर्जा, नापतौल सबै संघीय सरकारको मातहतमा नै हुनुले प्रदेश सरकारले अधिकार नपाएको बताए । प्रदेश सरकारले छोटो समयमा उपलब्धिमूलक काम गर्नुपर्ने र सोही दिशामा आफूहरु लागेको उनको भनाइ थियो ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया