बागमती

कीर्तिपुरमा पनि मापदण्ड विपरीतका संरचना भत्काउन सुरू

इकागज |
भदौ ९, २०७९ बिहीबार १७:५७ बजे

कीर्तिपुर- कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरीतका संरचना हटाउने कार्य सुरू गरेको छ ।

पटक-पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण आज नगरपालिकाले त्यस्ता अवैध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित थिए । 


नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पास विपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सुनिता शाक्यले बताइन् । महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्ड विपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले दिइन ।

'उहाँहरूसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाउनुभएको रहेछ । तर, हामी आइसकेपछि पनि अनुरोध गर्दा नहटाइएपछि भत्काउन बाध्य भयौँ,' उनले थपिन् । नियम विपरीतका संरचना हटाउन स्थानीय जनताले पहिलेदेखि नै माग राख्दै आएको उपप्रमुख शाक्यले बताइन् ।

यससँगै नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य  छिट्टै थाल्ने समेत उनको भनाइ थियो । 


Author

थप समाचार
x