तस्बिरमा हेटौंडाको फोहोर, व्यवस्थापनमा जटिल बन्दै
मकवानपुर- बागमती प्रदेशको राजधानी हेटौंडामा फोहोर व्यवस्थापन जटिल बन्दै आएको छ । २०७१ सालमा देशको सबैभन्दा सफा सहरको रुपमा पुरस्कृत भएर पाँच लाख रुपैयाँ पुरस्कार पाएको हेटौंडा सहर विस्तारै फोहोर बन्दै आएको छ ।
हाल हेटौंडाको फोहोर संकलन गरेर जम्मा गर्दै आएको फोहोर व्यवस्थापनको विकल्प नखोजिने हो भने अबको ४/५ वर्षमा हेटौंडाको फोहोर व्यवस्थापन नगरकै समस्याको रुपमा आउने निश्चित भएको छ । काठमाडौँको फोहोर व्यवस्थापनको चुनौती दिनदिनै बढ्दै आएको बेला हेटौंडाको फोहोर व्यवस्थापन गरिँदै आएको डम्पिङ साइट पनि भरिँदो छ ।
हेटौंडा-१० सिसौघारीमा हाल संकलन गर्दै आएको फोहोर दिनहुँ एस्काभेटर लगाउने गरिएको छ,तर यसको विकल्प भने खोजिएको छैन । डम्पिङ साइटको नजिकै बसोबास गर्दै आएका स्थानीयहरू फोहोरको गन्धको कारण आजित छन् ।
नगरपालिकाले गन्ध फैलन नदिनसमेत कुनै चासो नदिएको उनीहरू बताउँछन् । तत्कालीन हेटौंडा नगरपालिका र हालको हेटौंडा उपमहानगरपालिकाको फोहोरको परिमाण समेत दोब्बर छ, तर सफाई कर्मचारीको संख्या आधाभन्दा कम छ । यसले गर्दा पनि हेटौंडा बजारमै समेत फोहोर संकलनमा चुनौती सुरु भएको छ ।
संकलन भएको फोहोर व्यवस्थापनमा समेत समस्या भएको हेटौंडा उपमहानगरपालिका वातावरण महाशाखाका सफाइ निरीक्षक दिपेन्द्र राज शर्माले बताए ।
हाल हेटौंडा-१० को झण्डै २० विगाहा जग्गामा फोहोर थुपार्दै आएको छ । नगरपालिकाले फोहोरलाई उत्पादनमै वर्गिकरण गर्ने र त्यसै अनुरुप व्यवस्थापन गर्ने गरी ७ वर्ष अघि बनाएको योजना योजनामै थन्किएको छ । अहिले पनि बजारमा प्रयाप्त डस्टबिनहरू पनि छैनन्, र घरैमा समेत फोहोर वर्गिकरण गरेर संकलन गर्ने काम भएको छैन ।
नगरपालिकाले कुहिने, नकुहिने र अस्पतालबाट निस्कने सुइ जस्ता फोहोरको स्रोतमै वर्गिकरण गरेर छुट्टाछुट्टै संकलन गर्ने नीति लिएको थियो । ७ वर्ष अघि यो अभियान सुरु गरेको भन्दै डस्टबिनसमेत वितरण गरिएको थियो तर हाल कतै पनि यस्ता डस्टबिन छैनन् ।
फोहोर व्यवस्थापनको लागि वैकल्पिक डम्पिङ साइटको खोजि र बजारको फोहोर संकलनबारे नीतिगत रुपमा तयारी हुँदै गरेको हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा बताउँछिन् ।
'बजारको फोहोर संकलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन नगरपालिकाले हामीले योजना बनाउने तयारी थालेका छौँ' उनले भनिन् 'यति समयभित्र वा यहीँ बनाउने भन्ने छैन, तर हामी गर्छौ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया