बागमती

काठमाडौँ महानगरले भन्यो- अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुन्छ

इकागज |
भदौ १२, २०७९ आइतबार ९:३५ बजे

फाइल तस्बिर

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुने स्मरण गराएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) आइतबार बिहान विज्ञप्ति जारी गर्दै आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृतिविना निर्माण कार्य गर्न नपाउने स्मरण गराएका हुन् ।

'अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुन्छ,' विज्ञप्तिमा भनिएको छ, 'आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृतिविना निर्माण कार्य गर्न पाउँदैनन् । साथै, निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसँग सम्बन्धित व्यक्ति वा संस्थाले कबुलियत गरेका हुन्छन् । महानगरले आफ्नो नियामक दायित्व पूरा गर्ने क्रममा यस तथ्यलाई पनि विशेष ध्यान दिएको छ ।'


कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कबुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व भएको मेयर शाहको भनाइ छ । भूइँ तला वा बेसमेन्टमा पार्किङ्ग गर्ने गरी भवनको नक्सा स्वीकृती लिएका व्यक्ति वा संस्थाले सो वापत महानगरबाट तला थप लगायतका विभिन्न सुविधा पनि लिइरहेको उनले स्मरण गराएका छन् । तर कतिपय व्यक्ति वा संस्थाले आफूले महानगरबाट पाउने सवै सुविधा लिने तर कवुलियतनामाका शर्तहरू भने उल्लंघन गर्ने गरेको अवस्था व्यापक रहेको विज्ञप्तिमा उल्लेख छ ।


Author

थप समाचार
x