मेयर बालेनको सिको गर्दै हेटौंडाकी प्रमुख लामा
मकवानपुर- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नक्सा विपरीत बनेका संरचना भत्काउन थालेपछि यसको सिको बागमती प्रदेशको राजधानी हेटौंडाले पनि गर्ने भएको छ ।
काठमाडौँमा बालेन शाहले चालेको कदमको चर्चा अहिले देशभर छ । यसैको अनुसरण हेटौंडामा पनि हुने भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरले पनि नक्सा विपरीत भवन निर्माण भए/नभएको खोजी गर्ने तयारी थालेको बुझिएको छ ।
हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले पनि यस विषयमा चासो राख्दै मुख्य सडकको छेउमा नक्सा पास नभइ बनेका साना-ठूला टहराहरू हटाउने मनसाय देखाएकी छिन् । गृहकार्य हुँदै गरेको कार्यालयले जनाएको छ । केही दिनभित्र ३५ दिने सूचना प्रकाशन गरी काम सुरू गरिने नगर प्रमुख लामाले बताइन् । पार्किङको लागि पास गरी घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा कानुनी कारबाही गरिनुका साथै पसललाई हटाउने लामाले जिकिर गरिन् ।
यसअघि पनि काठमाडौँका मेयर बालेनले निजी शौचालयहरू सार्वजनिक प्रयोजनको लागि खुल्ला गर्न प्रेरित गरेपछि लामाले हेटौंडाको व्यवसायीले पनि यसबारे सोच्नुपर्ने बताएकी थिइन् । त्यस लगत्तै केही व्यवसायीहरुले मेयर लामालाई समर्थन गर्दै आफ्नो निजी शौचालयलाई सार्वजनिक प्रयोजनको लागि खुला गरेका थिए ।
यस पटक नक्सा विपरीत बनेका घरहरूमाथि लामाले निगरानी बढाउने भन्नेबारे भने व्यवसायीहरूले मेयर लामा चर्चाको लागि पछिपछि लागेको प्रतिक्रिया दिएका छन् । 'बालेन जेजे गरेर चर्चामा आए उहाँले त्यही गर्नुपर्छ भन्ने हैन,' सिटीइन रोडका एक व्यापारीले भने, 'आफ्नो क्षेत्रको आवश्यकतालाई पहिचान गरेर काम गर्नुपर्छ ।'
यता हेटौंडा उपमहानगरपालिका भित्र २५ मिटर बाटो विस्तार गर्ने कार्य वर्षौदेखि अड्किएको तर्फ भने कुनै पहल गरिएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया