थाहा नगरका विद्यालयमा स्थानीय पाठ्यसामग्री
मकवानपुर - मकवानपुर जिल्लाको थाहा नगरपालिकाले स्थानीय भुगोललगायत जातजाति, भाषाभाषी तथा संस्कृति बारे जानकारी हासिल गर्ने गरी स्थानीय पाठ्य सामग्री समाबेश गरिएको पाठ्यक्रम लागु गर्ने तत्परता देखाएको छ ।
हाल थाहा नगरपालिकाले आफ्नो क्षेत्रको सबै सामुदायिक विद्यालयमा स्थानीयता झल्कने पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । स्थानीय परिवेश, चालचलन, परम्परा, पर्यटकीय स्थल, स्वास्थ्य, स्थानीय खेलजस्ता मौलिक र संरक्षण गर्नुपर्ने विषयको महत्त्व बुझाउन ‘थाहा ज्ञानमाला’ पाठ्यसामग्री गत वैशाखदेखि पढाउन थालिएको हो ।
यसै वर्षबाट सुरू गरिएको पाठ्यसामग्री हाल कक्षा १ देखि ५ कक्षासम्म लागु गरिएको नगरपालिका प्रमुख बिष्णु बिष्टले बताए । आगामी वर्षबाट ६ देखि ८ कक्षासम्म पढाइ हुने गरी पाठ्यपुस्तक बनाइने विष्टले बताए ।
स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय सरोकारवालाको संलग्नतामा स्थानीय तहलाई पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अधिकार प्रदान गरेको छ । नगरपालिकामा ५३ वटा सामुदायिक, ६ संस्थागत विद्यालयमा ९ हजार ७ सय ५२ जना विद्यार्थी छन् । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा रूपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारी मात्र समावेश गरिएको छ ।
ती कक्षाका बालबालिकाका लागि बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्री समावेश गरिएको शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले बताए । रूपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजनाअनुसार सामान्य जानकारी समावेश गरिएको रेग्मीले बताए ।
एक तह पास गरेर गएका युवाहरूलाई आफ्नो स्थानीय स्तरको बारेमा स्पष्ट जानकारी होस् भनेर स्थानीय पाठ्यसामग्री लागु गरिएको प्रमुख बिष्टले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया