योजना कार्यान्वयनमा ढिलाई नगर्न राज्यमन्त्री प्रजाकाे निर्देशन
मकवानपुर- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले योजना कार्यान्वयनमा ढिलाई नगर्न निर्देशन दिएका छन् । मातहतका कार्यालयका कर्मचारीहरुलाई चालू आर्थिक वर्षका छुट्याइएका याेजना कार्यान्वयन गर्न ढिलाई नगर्न उनले निर्देशन दिएका हुन् ।
प्रदेशभित्रका पूर्वाधार विकास कार्यालय र सहरी विकास तथा भवन कार्यालयका कार्यालय प्रमुखहरूबीच सोमबार मन्त्रालयमा भएको कार्यक्रम प्रजाले भने, ‘योजना कार्यान्वयन गर्न कुनै कानुनी वा नीतिगत समस्या छ भने पहिचान गरी चाँडै मन्त्रालयलाई जानकारी गराउनूस्, नभए अब चाँडै नै योजना कार्यान्वयन गर्नतिर लाग्नुपर्ने हुन्छ ।’ छलफलमा राज्यमन्त्री प्रजाले डीपीआर गर्नुपर्ने योजनाहरूको डीपीआर सुरू गरी चाँडै ठेक्का लगाउन निर्देशन दिएका छन् ।
'बहुवर्षीय ठेक्का लागेर काम भइरहेका सडक, भवन तथा सडक पुलका योजनाहरू चाँडै सम्पन्न गर्न सम्बन्धित कार्यालयहरूलाई दबाब दिनुपर्ने अवस्था सृजना नगर्नूस,' उनले भने । यसअघि डीपीआर भएर बसेका योजनाहरूमा आवश्यक बजेट विनियोजन गरिएको भन्दै राज्यमन्त्री प्रजाले कुनै योजनामा बजेट हाल्न छुटेको भए संशोधन गरी बजेट हालिने प्रतिबद्धता पनि जनाए । कार्यालयहरूमा कर्मचारीको अभाव भएको गुनासो आएको भन्दै उनले सबै कार्यालयहरूमा स्थायी कर्मचारी थप गर्ने प्रक्रिया अघि बढिसकेको पनि बताए ।
विगतमा कार्यालयका कर्मचारीको मनमुटाव तथा सल्लाह र समन्वय नहुँदा पनि योजना कार्यान्वयनमा असर परेको स्मरण गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न राज्यमन्त्री प्रजाले सचेत गराए । छलफलमा मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले कार्यक्रमहरू कार्यान्वयनमा कुनै समस्या भए प्रष्ट रुपमा राख्न कार्यालय प्रमुखहरूलाई आग्रह गरे ।
कानुन र नीति नियमको परिधिभित्र रहेर कार्य सम्पादन गर्नसमेत मातहतका कार्यालय प्रमुखहरूलाई सचिव पण्डितले निर्देशन दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया