अतिक्रमित संरचना हटाउन हेटौँडा उपमहानगरले बनायो कार्यदल
मकवानपुर - हेटौंडा उपमहानगरपालिकाले अतिक्रमण र मापदण्डविपरीत रहेका संरचना हटाउन कार्यदल गठन गरेको छ । उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा बसेको ८औं कार्यपालिका बैठकले नगरका सम्पूर्ण वडामा नियमविपरीत निर्माण भएका संरचनाको मुल्याङक र अनुगमनका लागि हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो ।
बैठकले संरचनाहरू हटाउनका लागि ३५ दिने सूचनाजारी गरी कामलाई अघि बढाउने जनाएको छ ।
कार्यदलले मुख्य गरी प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा रहेका अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने नगर प्रमुख लामाले बताइन् । राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरपालिकाको मापदण्डविपरीत निर्माण भएका संरचनाको मुल्याङकन गर्ने र हटाउने बताइएको छ ।
नगर क्षेत्रमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरू स्वस्फुर्त हटाउन ३५ दिने सूचना प्रकाशन गरेसँगै कार्यदलले काम सुरु गर्ने बताइएको छ । नगर प्रमुख लामाका अनुसार सुचना प्रकाशनपछि नहटाएमा उपमहानगरले उपकरणको प्रयोग गरेर हटाउनेछ ।
'हामी सुन्दर शहर निमार्णको अभियानमा छौं, यस्ता अव्यवस्थित ढंगबाट निर्माण भएका संरचनाले बजार सुन्दरतामा कमिल्याएको र कानुन विपरीत रहेकाले हटाउने तयारी थालेका हौं,' लामाले भनिन् ।
कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा हेटौंडा १ का कार्यपालिका सदस्य इश्वरी रसाईली हेटौंडा २ का सदस्य सुरज बतौंला, हेटौंडा ४ का सदस्य जेएन श्रेष्ठ र सरोकार वाला निकायको तर्फबाट मकवानपुर उधोग वाणिज्य संघबाट एक सदस्य रहने बताइएको छ ।
त्यस्तै बैठकले हेटौंडा १० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ मा सार्ने निर्णय गरेको छ । बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनलको निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा १ को राप्ति करीडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको नगर प्रमुख लामाले जानकारी दिइन् ।
तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने उनले बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया