मकवानपुरको कैलाश गाउँपालिका बालमैत्री घोषणा हुँदै
मकवानपुर । मकवानपुरको स्थानीय तहहरुले बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने कार्यलाई तीव्रता दिएका छन् । जिल्लाको ३ वटा स्थानीय तहहरुले बालमैत्री घोषणा गरिसक्दा अन्य पालिकाहरु भने अन्तिम तयारीमा रहेका छन् ।
कैलाश गाउँपालिका बालमैत्री घोषणाको अन्तिम तयारीमा रहेको छ । गाउँपालिका आगामी मंसिर २५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीमा जुटेको गाउँपालिका अध्यक्ष लोक मुक्तानले बताए ।
पालिकालाई बालमैत्री घोषणाका लागि साउनको पहिलो हप्तादेखि वडास्तरीय रणनीति तथा कार्ययोजना तयारी सम्बन्धी छलफल सुरु भएको थियो । गाउँपालिकाले प्रत्येक वडामा एक जना बालमैत्री सहजकर्ता र १ जना पालिकास्तरीय सहजकर्ता तोकेर काम गरिरहेको गाउँपालिकाका अध्यक्ष मुक्तानले जानकारी दिए ।
निर्धारित मितिमा बालमैत्री घोषणा भएमा कैलाश गाउँपालिका देशकै छैठौं र मकवानपुरको चौथो बालमैत्री स्थानीय तह बन्ने छ । मकवानपुरको मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री घोषणा भैसकेका छन् । यसैगरी पाल्पाको रम्भादेवी र दोलखाको कालिन्चोक गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा भइसकेको बालमैत्री सहजकर्ता विष्णुप्रसाद चौबेले जानकारी दिए ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार बालमैत्री स्थानीय शासनका ५१ वटा न्यूनतम सूचकहरु तोकिएका छन् । जसमा बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत विकासतर्फ १५ वटा सूचक रहेका छन् । सो सूचकहरु पूरा गरिसकेपछि बालमैत्री स्थानीय शासन घोषणा गर्न सकिनेछ ।
दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराईएको हुनुपर्ने, एक बर्षभित्रका प्रत्येक बालबालिकाले नेपाल सरकारले तोकेका सबै र पूर्ण खोप प्राप्त गरी पूर्ण खोपयुक्त घोषणा भएको हुनुपर्ने, ५ वर्षमुनिका सबै बालबालिकाको जन्मदर्ता भएको हुनुपर्ने, स्थानीय तह बालविवाह मुक्त भएको हुनुपर्ने, सडक बालबालिकाको संख्या शून्य भएको हुनुपर्ने, ५ देखि १४ बर्ष उमेरसमूहका शतप्रतिशत बालबालिकाले आधारभूत शिक्षा पूरा गरेको हुनुपर्नेलगायतका सूचकहरु तोकिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रबद्र्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी गाउँ/नगरपालिकाको वडालाई दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया