बागमती

हेटौंडा उपमहानगरको निर्णय : जनप्रतिनिधिलाई कोट र सारी, प्रेस युनियनलाई १० लाख अनुदान

इकागज |
भदौ १६, २०७९ बिहीबार ११:५७ बजे

मकवानपुर - हेटौंडा उपमहानगरपालिकाले फेरि विवादित निर्णय गरेको छ । नगर कार्यपालिकाले जनप्रतिनिधिहरूलाई सारी र कोट दिने निर्णय गरेको हो । जसको व्यापक आलोचना भइरहेको छ । 

यति मात्रै होइन उपमहानगरपालिकाले नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनलाई समेत १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । उपमहानगरपालिकाले नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए । 


न्यौपानेका अनुसार हेटौं‌डामा गत साउन ६ र ७ सम्पन्न प्रेस युनियनको ९औं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय गरेको हो । बुधबार बसेको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय स्तरको कुनै कार्यक्रम भए उपमहानगरले सहयोग गर्ने सैद्धान्तिक निर्णयअनुसार उपमहानगरले महाधिवेशनमा भएको खर्च भुक्तानी गर्न १० लाख रुपैयाँ दिने निर्णय भएको न्यौपानेले बताए । 

बिलको आधारमा प्रेस युनियनले गरेको खर्चको भुक्तानी दिन लागेको न्यौपानले बताए । युनियनबाट १५ लाख रुपैयाँ माग भएकोमा १० लाख रुपैयाँ दिने निर्णय भएको उनको भनाइ छ ।

कार्यपालिका बैठकले महिला जनप्रतिनिधिहरूले सिलाएको ड्रेसको खर्च दिने भएको छ । यस अघिका महिला जनप्रतिनिधिहरूलाई कोट र सारीको खर्च दिने निर्णय भए पनि विवाद आउने भन्दै भुक्तानी भएको थिएन । 

तर अब नयाँ र पुराना दुवै महिला जनप्रतिनिधिहरूले कोट र सारीको एकमुष्ट खर्च पाउने भएका छन् । जनताको करबाट संकलित बजेटबाट हेटौंडा  उपमहानगरपालिकाले अनावश्यक खर्च गरेको भन्दै तीब्र विरोध आएको छ ।


Author

थप समाचार
x