बागमती

मकवानपुरमा डेंगु संक्रमण बढ्दै, नगरपालिकाले थाल्यो नियन्त्रण अभियान

इकागज |
भदौ १८, २०७९ शनिबार १२:६ बजे

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमण नियन्त्रणमा उपमहानगरपालिकाले चासो देखाएको छ । नगरमा संक्रमितको संङ्ख्या ५ सय नाघेलगत्तै नियन्त्रणमा चासो देखाईएको छ ।

हेटाैडा उपमहानगरपालिका क्षेत्रमा डेंगु संक्रमण बढ्दै गएपछि उपमहानगरपालिकाले आजबाट नियन्त्रण अभियान सुरु गरेकाे हो । स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा उपमहानगरले शनिबार डेंगु नियन्त्रण अभियान सुरु गरेको हो । नगरमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएकाे हेटाैडा उपमहानगरपालिकाले जनाएकाे छ ।

आज शनिवारबाट ४ दिन लामखुट्टेकाे लार्भा नष्ट गर्ने अभियान सुरु गरिएकाे स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले जानकारी दिए । डेंगु संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने तथा लार्भा बनाउने भएकाेले सफा पानी जम्ने सवारी साधनका टायर, गमला, पानी जम्ने ठाउँ पहिचान गरी लामखुट्टे नष्ट गर्न स्प्रे गरिने तथा जनचेतना समेत फैलाउन सूचना प्रभाव गरिने उनले बताए । शनिबार हेटाैडा ४ क्षेत्रका माेटर ग्यारेज तथा माेटरसाइकल मर्मत केन्द्रहरुमा रहेका प्रयाेग नआउने टायरहरु नष्ट गरिएकाे उपमहानगरपालिकाले जनाएकाे छ ।

हेटौंडा उपमहानगरपालिकाकाे वडा नम्बर ४ र ५ मा सवारी साधन बनाउने ग्यारेजहरु धेरै रहेको तथा जनघनत्व समेत बढी भएको कारण यहाँ बढी संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । डेंगुको कारण हालसम्म मकवानपुरमा कसैको पनि ज्यान नगएको तर अस्पताल र मेडिकलहरुमा डेंगु बिरामीको चाप बढेकाेले उपचारमा समस्या हुँदै गएकाे उनले जानकारी दिए ।

देशैभर डेंगु संक्रमण बढ्दै गएकाे छ । गत साउन महिनादेखि अहिलेसम्म मकवानपुर जिल्लामा ५ सय ५८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । सबैभन्दा बढी संक्रमित जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ रहेका छन् ।



Author

थप समाचार
x