बागमती

हेटौंडा भेट्रान्स विजयी

इकागज |
भदौ १९, २०७९ आइतबार ११:२९ बजे

मकवानपुर- मकवानपुरको हेटौंडामा जारी प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको आइतबार बिहान भएको पहिलो खेलमा हेटौंडा भेट्रान्स क्लब विजयी भएको छ ।

नागस्वती भेट्रान्स क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा खेलको १९ औँ मिनेटमा हेटौंडा भेट्रान्सका तर्फबाट अजय मानन्धरले गरेको गोल नै खेलको निर्णायक गोल बन्‍न पुगेको थियो ।


खेलमा हेटौंडा भेट्रान्सका नवराज बज्राचार्य उत्कृष्ट खेलाडी हुँदै म्यान अफ द म्याच हुन सफल भएका थिए । आइतबार ५ खेल गरिने तयारी भएको छ । आज बिहान  चितवन भेट्रान्स र जोरपाटी भेट्रान्स काठमाडौँबीच हुने भनिएको खेल दिउँसो १ बजेलाई सारिएको छ ।  

तेश्रो खेल दिउँसो २ बजे काल भैरव भेट्रान्स र अभिषेकचर्च भेट्रान्स नवलपरासीबीच हुनेछ । चौथो खेल भने कोटेश्वर ११ भेट्रान्स र सिमरा भेट्रान्सबीच हुनेछ र पाँचौ खेल ठमेल चिया पप भेट्रान्स र वीरगञ्ज सिटी भेट्रान्सबीच हुने तालिका रहेको छ ।

खेलमा विधागत नगद पुरस्कार तथा खेल अवधिभर उत्कृष्ट खेल्ने एक जना खेलाडीलाई ५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा देशभरका ४० वर्षमाथि उमेर समूहका पुर्व राष्ट्रिय खेलाडीहरूको १७ समूहको सहभागिता रहेको छ । प्रतियोगितामा विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको अध्यक्ष सोमबहादुर तितुङले बताए ।

प्रथम नागस्वती भेट्रान्स रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको उद्‌घाटन गर्दै हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामा तथा उपमेयर राजेश बानियाँले हेटौंडामा प्याराफिटसहितको सानो स्टेडियम बनाउने प्रतिवद्धता व्यक्त गरे ।

हेटौंडा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने थलोको रुपमा रहेको भन्दै मेयर लामाले यसको लागि आफूले सहयोग गर्ने बताइन् ।
 


Author

थप समाचार
x