बागमती

भावी मुख्यमन्त्रीका दाबेदार कार्की झापाको ५ (क) बाट सिफारिस

इकागज |
भदौ १९, २०७९ आइतबार २०:४५ बजे

विराटनगर- एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (क) बाट सिफारिस भएका छन् । कार्कीको नाम प्रदेश १ को भावी मुख्यमन्त्रीका रूपमा चर्चामा रहँदै आएको छ ।

उक्त क्षेत्रबाट कार्कीसहित मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल र केदार ढुंगेल गरी ७ जनाको नाम सिफारिस भएको हो । 


पूर्वमन्त्री कार्की यसअघि पनि झापा ५ को (क) बाटै निर्वाचित भएका थिए । तत्कालीन नेकपा नेतृत्वको पहिलो प्रदेश सरकारमा साढे ३ वर्षसम्म उनी आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा रहेका थिए ।

झापाको निर्वाचन क्षेत्र ५ एमाले अध्यक्ष केपी शर्मा ओली लड्ने निर्वाचन क्षेत्र पनि हो । सोही क्षेत्र अन्तर्गतको प्रदेश सभामा कार्की पुनः आकांक्षी देखिएका छन् । अध्यक्ष ओलीसँगको निकटताका कारण उनले यसपटक पनि टिकट पाउने एमालेका स्थानीय कार्यकर्ताहरूले बताउँदै आएका छन् ।

कानुनमा स्नाकोत्तर गरेका कार्की लाइसेन्स प्राप्त वकिल पनि हुन् । उनी प्रदेश १ का एमाले नेताहरू मध्ये नाम गनिनेभित्र पर्दछन् । कार्कीले २०७४ को प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका अनिल कृष्ण प्रसाँईलाई पराजित गर्दै एमालेका तर्फबाट प्रदेश १ को प्रभावशाली मन्त्रालयको मन्त्री बन्‍न सफल भएका थिए ।


Author

थप समाचार
x