मुख्यमन्त्री पाण्डेलाई अध्यक्ष तिमिल्सिनाले भनेः निःस्वार्थी बनौँ, स्वार्थी नबनौँ, गणतन्त्र, संघीयता सबै सफल हुन्छ
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्वीप लागेपनि गलत कुरालाई गलत भन्न सक्ने आँट गर्न वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिएका छन् ।
सोमबार वागमती प्रदेशको राजधानी हेटौंडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष तिमिल्सिनाले संघीय ऐनहरू केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र स्थानीय तहको अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसद्मा हात उठाउनुपर्ने जिकिर गरे ।
सोही कार्यक्रममा बोल्ने क्रममा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हालै पारित काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधानविपरीत भएको भन्दै सो विधेयक किन पारित गरेको ? भनि राष्ट्रिय सभालाई प्रश्न गरेका थिए । राष्ट्रिय सभा आफैंले संविधानको, संघियताको विरुद्धमा गएर विधेयकहरू पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए ।
उनले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी किन गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रश्न गरे । अध्यक्ष तिमिल्सिनाले दलको आदेश र ह्वीपका कारण सांसदहरूले पद खोसिने डरले पनि संघीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दाबी गरे । उनले सरकारले ल्याएका कुनै पनि विधेयकहरू फेल भएमा सरकार नरहने भन्ने चिन्ताले सबै विधेयकमा सांसदहरू पार्टीको ह्वीपका कारण सहमति जनाउन बाध्य बनेको उल्लेख गर्दै ह्वीप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्र ढंगले छोड्नुपर्ने बताए ।
तिमिल्सिनाले हालै आएको नागरिकता विधेयकमा पनि संसदमा छलफलका क्रममा विरोध जनाएका सांसदहरू नै पास गर्ने बेलामा संसद्बाटै भागेको जिकिर गरे । उनले कुनै डरबिना निःस्वार्थ बनेर काम गर्ने हो भने संघीयता र गणतन्त्र बचाउन सकिने पनि स्पष्ट पारे ।
‘मुख्यमन्त्रीजीले ऐन नै देखाएर भन्नुभयो, ऐन निर्माणको हिसावले संघीय सरकार, संघीय संसदले सब संघीयताको पक्षधर लिने सबै काम शतप्रतिशत ठिक गरेको छ भन्ने होइन । सरकारमा रहनेहरू नै त्यसबाट आफूलाई करेक्शन गर्नेतिर जानुपर्छ । वा ह्वीप नलाग्ने गरेर यस्ता कुरामा सांसदहरूलाई स्वतन्त्र ढंगले छोड्नुपर्छ । त्यो आँट गर्नुपर्छ, त्यो हिम्मत ल्याउनुपर्छ,' उनले भने, 'नेताले भोलि टिकट नदेला, मन्त्री नदेला, बनेको पद खुस्काइदेला । यस्तो प्रलोभनमा हामी सबै लोभीपापी भएका छौँ । एकातिर बोल्छौँ, स्वार्थको लागि अर्को गर्छौं । जे बोल्छौँ, त्यो गर्ने बोलौँ । निःस्वार्थी बनौँ, स्वार्थी नबनौँ, गणतन्त्र, संघीयता सबै सफल हुन्छ ।’
उनले अहिले संघीयता ठीक कि बेठीक भनेर अन्तर्क्रिया गर्ने बेला नभएको उल्लेख गर्दै सबलीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । अहिले संघीयताको सैद्धान्तिक कुरा गर्ने बेला नभइ संघीयता आवश्यक छ भनेर प्रमाणित गर्नुपर्ने बेला भएको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया