बागमती

मनहरी गाउँपालिकाको सय दिन : स्वास्थ्य इकाई भवन भत्काउनेदेखि बेरुजु सम्परीक्षणसम्म

इकागज |
भदौ २३, २०७९ बिहीबार १०:३२ बजे

 

मकवानपुर - मकवानपुरको मनहरी गाउँपालिकाका जनप्रतिनिधिहरूले आफू निर्वाचित भएर आएपछि सय दिनमा गरिएको कार्य प्रगतिको समीक्षा सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रन्जन कालाखेती,उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर श्रेष्ठले सय दिनको समिक्षा पत्रकार सम्मेलन गरेर सार्वजनिक सुनाएका हुन् । गाउँपालिकाले वडा कार्यालयमा अघिल्लो जनप्रतिनिधिले निर्माण गरेको स्वास्थ्य इकाइ भवन भत्काउनेदेखि बेरुजुलाई नियमित गरी सम्परीक्षणसम्मको कार्य गरेको छ ।


अघिल्लो जनप्रतिनिधिको पालमा ठेकेदारको लापारबाहीले कमसल बनेको मनहरी गाउँपालिका १ मकरीको स्वास्थ्य इकाई भवनको ढलान भत्काएर पुननिर्माण सुरु गरेको छ । गाउँपालिका अध्यक्ष कालाखेती र उपाध्यक्ष पुलामीको अनुगमनपछि पुननिर्माणका लागि निर्देशन दिइएको बताइएको छ । यस्तै मनहरी अस्पतालको अस्थायी भवन निर्माण सम्पन्न भइ सोही भवनबाट सेवा प्रवाहको व्यवस्था हुँदै रहेको १ भदौबाट  ओपिडि सेवा समेत विस्तार गरिएको छ ।

यसैगरी हाँडीखोला स्वास्थ्य चौकीमा गर्भवती महिलाहरूको लागि निशुल्क भिडयो एक्सरे सेवा सञ्चालनमा ल्याइएको कालाखेतीले बताए । स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धीपूर्ण काम भएको उनले बताए । कालाखेतीका अनुसार गाउँपालिका र सामुदायिक आँखा अस्पताल हेटौडाबीच सम्झौता भइ गाउँपालिकाको वडा ७ मा दैनिक आँखासम्बन्धी सेवाको निरन्तरताका साथै मोतियाबिन्दू भएका गाउँपालिका भित्रका बिरामीहरूका लागि नि:शुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

गाउँ कार्यपालिकामा यस बिचमा विभिन्न बैठकबाट ७० वटा निर्णयहरू भएको अध्यक्ष कालाखेतीले बताए । गाउँपालिकाको यो टिमले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई जोड दिँदै साविकमा रहेको गाउँपालिकाको नारालाई परिवर्तन गरि शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार नारा तय गरि सोही अनुसार २०७९/८० को नीति तथा कार्यक्रम गाउँसभाको अधिवेशनमा प्रस्तुत गरी सर्वसम्मतिले पारित गरिएको उपाध्यक्ष पुलामीले बताइन् ।

कार्यालयको कामलाई व्यवस्थित, वैधानिक एवं पारदर्शी बनाउन गाउँपालिकाका ८ वटा कार्यविधि र निर्देशिका बनाई लागू गरिएको, ३ वटा संशोधन गरि कार्यान्वयनमा ल्याइएको छ ।

गाउँपालिका २०७७९०७८ सम्मको बेरुजू रकम ३५ करोड ७९ लाख १६ हजार मध्ये ५ करोड ३६ लाख २४ हजार सम्परीक्षण गराई हालसम्मको बेरुजू ३० करोड ४२ लाख ९२ हजार बाँकी रहेकोमा पालिकाले जनाएको छ । यसमध्ये पनि २०७९ असार १० गते बसेको गाउँ सभाको एघारौं अधवेशनद्वारा गठित लेखा समितिबाट ६ करोड १७ लाख ८५ हजार ५सय ३४ रुपैयाँको बेरुजू नियमित गराई सम्परीक्षणको लागि महालेखा परीक्षक कार्यालयमा पेश गर्ने चरणमा रहेको कालाखेतीले बताए छ । साथै यस अवधिमा ३ लाख ५७ हजार असूल समेत भएको उनले बताए । 

गाउँपालिका गरेको कार्यप्रगति तथा निर्णयहरूबारे आगामी दिनमा चौमासिक रुपमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने अध्यक्ष कालाखेतीले बताए ।


Author

थप समाचार
x