बागमती

विद्युतीय बस खरिद प्रक्रियामै रुमल्‍लियो प्रदेश सभा

इकागज |
बैशाख २, २०७८ बिहिवार १७:१२ बजे

हेटौंडाः बागमती प्रदेश सभा फेरि पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदमा उठेर विरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् । विद्युतीय बस खरिद प्रक्रिया रोक्न र मदन भण्डारी फाउन्डेशनको नाममा ५० लाख दिने मन्त्रिपरिष्दको निर्णय फिर्ता नभएसम्म संसद् अवरुद्ध रहने माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए । 

सरकारले पूर्वाधार र योजना नबनाई बस खरिद प्रक्रिया अघि बढाएको जनाउँदै सरकारको पैसा त्यहाँ फस्ने उनको भनाइ छ । बसमा लगानी गरेर दिगो रूपमा अगाडि बढ्न नसक्ने कुरा हुँदा पर्याप्त छलफल हुन जरुरी रहेको उनले बताए । विश्वासिलो वातावरण नबनेसम्म सरकारले विद्युतीय बस खरिद गर्न नहुने उनको तर्क छ । 


अवरोधको बिचमा पनि सदन चलेको भन्दै सरकार मुठभेटतर्फ गएको उनले बताए । २०७७ सालको सालको समीक्षा गदै नेता जम्कट्टेलले प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सरकार भागेको भाग्‍यै गरेको बताए । उनले प्रधामन्त्रीको कारण देशको संविधान खतरामा रहेको बताउँदै इमानको राजनीति गर्नुपर्नेमा जोड दिए।

बैठकमा संसदीय दलका नेताहरूले मात्र बोलेका थिए । प्रतिपक्ष दलको नेता इन्द्रबहादुर बानियाँले नयाँ वर्षको शुभकामना दिँदै सरकारले खरिद गर्न बोलपत्र आह्वान गरेको विद्युतीय बसको विषयमा विरोध गरे । यसअघि पनि विद्युतीय बसको खरिद प्रक्रिया नरोकिएको भन्दै प्रदेश सभा स्थगित हुँदै आएको थियो । बागमती प्रदेश सभा बस खरिद प्रक्रियामै रुमलिदै आएको छ । 

नेता बानियाँले कोरोनाको दोस्रो लहर आइसकेको समयमा त्यसको तयारी, बाढी पहिरोलगायतको विषयमा सरकारको तयारी के छ, त्यसको लागि आवश्यक बजेट कहाँबाट जुटाइँदै छ ? सदनलाई स्पष्ट गर्न सरकारसँग माग गरे । यता नेपाली कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले प्रमुख प्रतिपक्ष दललाई प्रतिपक्ष दलले साथ दिएको बताएका छन् । प्रदेश सभाको बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले संसदमा उठेर विरोध नगरे पनि सरकारले विद्युतीय बस खरिद प्रक्रिया नरोकेसम्म संसद अगाडि बढ्न नदिने जानकारी दिए । 

आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले विद्युतीय बस खरिद प्रक्रिया र मदन भण्डारी फाउन्डेशनलाई दिने ५० लाखको विषयमा जवाफ दिएका थिए । उनको जवाफ चित्त बुझ्दो नभएको र अमूर्त जवाफ आएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बैठकमा उठेर संसद अवरुद्ध पारेका थिए । 


Author

थप समाचार
x