बागमती

हेटौंडाकाे वन विज्ञान क्याम्पस आफ्नै भवनमा

इकागज |
भदौ २८, २०७९ मंगलबार १९:३३ बजे

मकवानपुर । दशकदेखि विवादमा तानिदै आएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को वन विज्ञान क्याम्पस आफ्नै भवनबाट सन्चालन हुने भएको छ । विश्व विद्यालय अनुदान आयोगबाट प्राप्त १० करोड १३ लाख ११ हजार रुपैयाँ लागतमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत हेटौंडास्थित वन विज्ञान संकायको शैक्षिक भवन तयार भएको हो ।

यो सँगै कृषि विश्व विद्यालय र वन विज्ञान विश्व विद्यालयबीचको विवाद साम्य भएको छ । आज वन विज्ञान अन्तरगतका डिन डाक्टर बलराम भट्टले वन बिज्ञान संकायका क्याम्पस प्रमुख शिवकुमार मान्जनलाई भवनको चाबी हस्तान्तरण गर्ने कार्यक्रम राखिएको थियो । यद्यपि क्याम्पस प्रमुख मान्जन भने चाबि लिन कार्यक्रममा सहभागी भएनन् ।


हेटौंडास्थित वन विज्ञान संकायका डिन डाक्टर भट्टले पहिले निकै दुख कष्टका साथ अध्यापन गराउँदै आएको भए पनि अहिले सहज रुपमा यस भवनबाट पढाउन थालिएको बताए । सुबिधा सम्पन्न पाँच तले २० कोठाको भवनबाट अध्यापन गराउँदै आएको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको चितवनस्थित कृषि क्याम्पस र हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान परिसरमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापना गर्ने भनी कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन २०६७ जारी भए पनि त्रिभूवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच स्वामित्वको विवाद जारी छ ।

वन संकायका डीन डाक्टर बलराम भट्टले अब वन संकायको प्रशासनिक भवन र प्राध्यापक, कर्मचारी आवास भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताए । २०७६ जेठ ३० गते विवादित जग्गामा तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भवन निर्माणको लागि शिलान्यास गरेका थिए ।


Author

थप समाचार
x