बागमती

२५ तल्लाको व्यवसायिक भवन बनाउने तयारीमा उपमहानगर

इकागज |
भदौ २९, २०७९ बुधबार १९:५० बजे

मकवानपुर । तरकारी, फलफूल तथा माछामासु व्यापार गर्दै आइएको हेटौंडा १० मा हेटौंडा उपमहानगरपालिकाले २५ तले व्यवसायिक भवन निर्माण गर्ने तयारी थालेको छ ।

हेटौंडा उपमहानगरपालिका-१० स्थित बसपार्कमा २५ तलाको व्यवसायिक भवन निर्माणका लागी डीपीआर तयार गर्ने निर्णय भएको उपमहानगरले जनाएको हो ।

‘हामीले डीपीआर तयार पार्ने निर्णय गरिसकेका छौं केही महिना भित्रै तयार हुन्छ, बसपार्कमा रहेको उपमहानगरपालिकाको करीव ५ बिगाहा जग्गामा भवन बन्नेछ’, उपमेयर राजेश बानियाँले भने ।

अहिले रहेको हङकङ बजार, माछा-मासु बजार क्षेत्रमा रहेका संरचना हटाएर विशाल व्यवसायिक भवन बनाउने उपमहानगरपालिकाले जनाएको छ। भवनमा सात तला अन्डरग्राउण्ड पार्किङको व्यवस्था हुने बताइएको छ ।

‘हामीले उक्त भवनमा बेस्मेन्ट नै ७ तला बनाउने योजना बनाएका छौं, कति तल जान मिल्छ हामीले परिक्षण गर्छौं’, उपमेयर बानियाँले भने । भवनको डीपीआर शहरी विकास मन्त्रालयले निशुल्क बनाइदिने सहमति भएको उपमहानगरपालिकाले जनाएको छ । 

२५ तल्लाको भवन बनाउने नक्सा स्वीकृतिको बारेमा भने उपमहानगर मौन छ । "व्यवसायिक भवन बनाउने निर्णय भएको हो, तर परीक्षण कार्य बाँकी रहेको छ" बानियाँले भने ।

यता हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्रचौरमा निर्माण गरिएको शहिद बासुदेव सभागृह भत्काएर व्यवसायिक भवन बनाउन अघिल्लो कार्यकालमै टेण्डर समेत स्वीकृत गरेकोमा हालसम्म कुनै काम अघि बढाउन सकेको छैन । खेलमैदान नजिकै रहेको सभागृह भत्काएर बेवारिसे अवस्थामा छाडेपछि उपमहानगरपालिका अहिले हेटौंडा १० मा  अर्को भवन बनाउने सपना मात्रै बाँड्न थालेको भन्दै टिप्पणी आईरहेको छ ।



Author

थप समाचार
x