व्यक्तिले आत्महत्या गर्नुअघि केही न केही प्रतिकृया जनाउँछ: प्रदेश प्रहरी प्रमुख बज्राचार्य
मकवानपुर । व्यक्तिले आत्महत्या गर्नुअघि केही न केही प्रतिकृया जनाउने बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले बताएका छन् । आइतबार बागमती प्रदेशकाे राजधानीमा हेटौडामा भएकाे प्रदेश स्तरीय आत्महत्या रोकथाम सचेतनामूलक कार्यक्रममा प्रमुख बज्राचार्यले भने– ‘व्यक्तिले आत्महत्या गर्नुअघि जनाउने प्रतिक्रिया समयमा नै पहिचान गरी परामर्श दिन सकेमा आत्महत्या न्यूनीकरणमा सहयोग पुग्नेछ ।’
बज्राचार्य बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न बागमती प्रदेश प्रहरीले विगतदेखि नै विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेकोमा यसलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय तहलगायत विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्य गर्नु पर्ने बताए । उनले प्रहरीको सहकार्यमा हातेमालो गर्न अन्य निकायहरुलाई आह्वान समेत गरेका छन् ।
‘आत्महत्या न्यूनीकरणका लागि तत्कालै नीति बनाउन जरुरी रहेको छ’ बज्राचार्यले भने ‘सचेतनामूलक कार्यक्रममा समेत सवै पक्षको समन्वय र सहकार्य हुनुपर्छ ।’ बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यसले प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुलाई एकपटक झक्झकाएको बताए ।
प्रहरीले प्रस्तुत गरेको कार्यपत्रले प्रदेश सरकारलाई आत्महत्या रोकथामको लागि नीति बनाउन मार्गदर्शन हुने उनले बताए । मुख्यमन्त्री पाण्डेले भने– ‘मानिसको जीवन सवैभन्दा महत्वपूर्ण भएको हुँदा यसलाई जोगाउन सवै पक्षले नैतिक शिक्षा लिन र दिन जरुरी रहेकाे छ ।’ त्यसैगरी कार्यक्रमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मानिसको जीवन अमूल्य भएकोले यसलाई जोगाउन सवै पक्षले आ-आफ्नो तबरबाट लाग्नुपर्ने र सचेतनामूलक कार्यक्रम समय समयमा गरिनुपर्ने बताए ।
हेटौंडा अस्पतालका चिकित्सक लव कार्कीले आत्महत्याको जोखिम क्षेत्र एवं वर्गको पहिचान गरी समयमा नै मनोपरामर्श दिन ठाउँ ठाउँमा मनोपरामर्श केन्द्र स्थापना गर्नुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले स्वागत गरी सुरु भएकाे कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपाय सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा प्रदेश स्तरीय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम भएको हाे । कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राङ्गणबाट प्रभातफेरी भइ रोयल पाटी प्यालेस हेटौंडामा कार्यक्रम गरिएको थियो ।
विश्व आत्महत्या रोकथाम दिवसको रुपमा नेपाल प्रहरीले उपत्यकामा केन्द्रीयस्तरको, ७ वटा प्रदेश राजधानीमा प्रदेशस्तरीय र ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी र्याली सहितको सचेतनामूलक कार्यक्रम आज देशैभरी एकैपटक सञ्चालन गरेको छ । कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया