बागमती प्रदेश सरकारले किसान कार्ड लागू गर्ने
मकवानपुर- कृषिमा दिँदै आएको अनुदान प्रभावहीन भएको मूल्यांकनसहित अनुदान कटौती गरेको बागमती प्रदेश सरकारले किसान कार्ड लागू गर्ने भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को आजको बैठकले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार प्रदेशको १ सय १९ स्थानीय तहमध्ये ५० वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।
बैठकले पोल्ट्री व्यवसायीको हकहित संरक्षण गर्न पोल्ट्री व्यवसायी बोर्ड गठन गर्ने, प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनौट गर्न सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलमा भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य रहने जनाइएको छ ।
यस्तै, मानव विकास सूचकाङ्कमा कमजोर धादिङ जिल्लाको रुबी भ्यालीलाई ग्रामीण एकीकृत विकास कार्यक्रम अन्तर्गत रुबी भ्यालीलाई गौरवको योजना राखी १ करोड रकम छुट्याइएको र नपुगेको रकम थप्ने निर्णय भएको खनालले बताए ।
यस्तै दोलखाको जिरीमा पर्यटकीय क्षेत्रको सम्भावनालाई मध्यनजर गरेर मानव निर्मित ताल ‘जिरी ताल’ निर्माण गर्न गौरवको योजना भित्र पार्ने निर्णय भएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया