बागमती

अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति ल्याइँदै

इकागज |
बैशाख ६, २०७८ सोमबार ९:१३ बजे

चितवन : मंगलबार राम, सीताको मूर्ति काठमाडौँबाट चितवन ल्याइने भएको छ । माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गर्न काठमाडौँबाट चितवन ल्याइने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट मंगलबार मूर्ति हस्तान्तरण गरेसँगै चार वटा रथसहित एक हजार आठ कलशयात्रा गर्दै चितवन ल्याइने भएको अयोध्याधाम व्यवस्थापन समितिको प्रचार प्रसार संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।


मंगलबार कलशयात्रासहित काठमाडौंबाट मूर्तिहरु देवघाट ल्याइनेछ ।  बुधबार परशुराम कुण्डको पवित्र जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने उनले बताए । साबिकको अयोध्यापुरी गाविस तथा हालको माडी नगरपालिका-९ अयोध्याधामको अस्थायी राममन्दिरमा मूर्तिहरु स्थापना गरिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको बताएपछि त्यस क्षेत्रको अध्ययन, अनुसन्धान सुरु भएको थियो । माडी नगरपालिकाले धाम व्यवस्थापनको लागि एक सय विगाहा जमिन दिने निर्णय गरेको छ ।


Author

थप समाचार
x