बागमती

मुख्यमन्त्री पौडेलले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस-माओवादी गएनन्

इकागज |
बैशाख ६, २०७८ सोमबार १३:३ बजे

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी र विवेकशील साझा पार्टीले बहिस्कार गरेका छन् । ललिपुरको जाउलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा आज बसेको सर्वदलीय बैठकमा सहभागिता नजनाएको नेकपा एमाले संसदीय दलका नेता केशवराज पाण्डले जानकारी दिए । 

सर्वदलीय बैठक के को लागि बोलाइएको भन्ने नै थाहा नभएको माओवादी बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बताए । सदन चलाउने विषयमा त्यति गम्भीर नदेखिएको तर सर्वदलीय बैठक बोलाइएको भन्दै उनले सहभागिता नजनाएको जानकारी दिए । यता विवेकशील साझा दलको नेता रमेश पौडेलले भने बैठकमा उपस्थित हुन जानकारी आएको तर बैठकको एजेन्डा बारे नै थाहा नहुँदा सहभागिता नजनाएको बताए ।  


सर्वदलीय बैठकमा राप्रपा, नेपाल मजदुर किसान पार्टी र एमाले पार्टीको मात्र सहभागिता थियो । बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल नै नभएको बैठकमा सहभागी राप्रपाकी प्रदेश सभा सदस्य रीता माझीले बताइन् । उनले प्रदेश सभाको सदन राम्रोसँग चलाउनुपर्नेमा जोड दिइन् । यस्तै आज बसेको बैठकले  कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन सरकारले धेरै भिडभाड हुने कार्यक्रम रोक्नुपर्ने र नागरिकलाई पनि भिडभाड हुने कार्य गर्न दिन नहुने निष्कर्ष निकालेको छ । 

बैठकमा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँललगायतको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x