उद्योगीको श्रीमती सुटुक्क समानुपातिकको सूचीमा, नेपाली कांग्रेस मकवानपुरमा खैलाबैला
मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक सूचीमा मकवानपुरको एक महिलाको नाम देखेर पार्टीमा खैलाबैला मच्चिएको छ । कहिल्यै सामाजिक काममा वा राजनीतिक गतिविधिमा नदेखिएको व्यक्तिको नाम नेपाली काँग्रेसबाट समानुपातिक सूचीमा देखेपछि पार्टीभित्र खैलाबैला भएको हो ।
मकवानपुर जिल्लाको प्रतिष्ठित व्यापारी कृष्ण गुप्ता अग्रवालको श्रीमती बागमती प्रदेशसभा सदस्यका लागि समानुपातिकको सूचीमा परेकी हुन् । उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष गुप्ताले आफ्नी पत्नी कृष्णकुमारी गुप्तालाई प्रदेशसभा सदस्यतर्फ मधेसी कोटाबाट समानुपातिकको बन्द सूचीमा नाम पारेका हुन् । डेढ वर्षअघि नेपाली कांग्रेस प्रवेश गरेका हेटौंडाका व्यापारी गुप्ताले त्यो बेला पनि अवसरको लागि पार्टी रोजेका थिए ।
उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष बन्न कै लागि गुप्ता २३ चैत २०७७ मा कांग्रेस प्रवेश गरेका थिए । समानुपातिकमा गुप्ताको पत्नीको नाम गुपचुप हालिएको भन्दै कांग्रेस मकवानपुरका जिल्ला नेताहरु रुष्ट बनेका छन् । कांग्रेसका एक जिल्ला नेताले यसको असर ४ मंसिरको निर्वाचन परिणाममा देखिने बताए । उनले जिल्लामा वर्षौदेखि पार्टीको लागि काम गर्दै आएकालाई अवसर नदिइ केहि वर्ष अघि मात्रै पार्टी प्रवेश गरेका र क्रियाशिल सदस्य समेत नभएकोलाई सांसद बनाउन लागेको भन्दै आफुहरु असन्तुष्टि रहेको बताए ।
यसअघि कांग्रेसको कुनै पनि गतिविधिमा नदेखिएकी गुप्ता आइतबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएकी थिइन् । गठबन्धनबाट प्रतिनिधि सभा तर्फको उम्मेदवार रहेकी महालक्ष्मी उपाध्यायको साथमा देखिएकी उनले हल्ला फैलने भन्दै माला समेत गलामा नलगाएर हातमा बोकेर हिँडेकी थिइन् । यसबारे प्रतिक्रिया लिँदा व्यापारी गुप्ताले एउटा महिलाले अवसर पाउँदा अरु महिला खुसी हुनु पर्ने बताए । “यो खुसीको कुरा हो, आत्तिनु पर्ने केही छैन” गुप्ताले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया