हेटौंडामा एमालेको कार्यकर्ता भेला, नेताहरूकाे चुनावी तयारी तीव्र
मकवानपुर- आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दलहरूले कार्यकर्ता भेला गर्न थालेका छन् । चुनाव लक्षित योजनाहरू निर्माणका लागि दलहरूले कार्यकर्ता भेला तथा एजेण्डाहरू सार्वजनिक गर्न थालेका छन् ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी एमाले मकवानपुरले जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर–१ का उम्मेदवार कमल थापा तथा क्षेत्र नम्बर–१ अन्तर्गत प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठको उम्मेदवार परिचय तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागी नेताहरूले मकवानपुरको प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका छ जना उम्मेदवारलाई हार्ने छुट नभएको भन्दै लागिपर्न निर्देशन दिए । योजनाबद्ध ढंगले चुनावी मैदानमा होमिएका कारण एमालेले यस जिल्लामा गरेका कामका आधारमा पनि जित सुनिश्चित भएको नेताहरूले दाबी गरेका छन् ।
सूर्यमा मतदान गरेर आफूलाई जिताएमा कसैले पश्चाताप गर्नेपर्ने दिन नआउने राप्रपा नेपालका अध्यक्ष तथा एमालेका उम्मेदवार कमल थापाले बताए । उनले भने, 'म मकवानपुर जिल्लाको साझा अभिभावक बनेर सबैको आवाजको प्रतिनिधित्व गर्ने छु ।'
चुनाव आफ्नो जीवनको अन्तिम चुनाव रहेको बताउँदै थापाले अहिलेको सहकार्यलाई सहज रूपमा लिनका लागि एमालेजनलाई आग्रह गरे । अहिलेको सहकार्य एक थान सांसद जित्नका लागि मात्र नभएर सधैँका लागि गरिएको सहकार्यलाई बुझ्न उनले आग्रह गरे । नागरिकता विधेयकका विषयमा राष्ट्रपतिले गरेको कदमको आफूहरूले स्वागत गरेको उनकाे भनाइ थियाे ।
एमालेका उम्मेदवार विजयी बनाउने गरी चुनावी अभियानमा सक्रिय बन्न रामेश्वर रानाको निर्देशन
नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाले एमालेले मात्र देशमा समृद्ध ल्याउन सक्ने बताएका छन् ।
अगुवा कार्यकर्ता भेलाका प्रमुख अतिथि रानाले एमाले सरकारमा रहँदा गरेका कामहरूले विकासका ढोकाहरू खोलेको बताउँदै एमालेको जितले मात्र देशमा समृद्धि आउने बताए ।
पार्टीले देशको भावी प्रधानमन्त्रीका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर बताउँदै जिल्लामा पार्टीको चुनावी अभियानलाई तीव्रता दिने गरी अघि बढ्नु पर्ने बताए ।
पार्टीलाई सत्ता गठबन्धनलगायत विदेशी शक्तिहरूले चौतर्फी घेराबन्दी र षड्यन्त्र गरिरहेको भन्दै त्यसविरुद्ध उभिन कार्यकर्तालाई निर्देशन समेत दिए । मंसिरमा हुने निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउने गरी सक्रिय बन्न पार्टीको सम्पूर्ण संगठनहरूलाई निर्देशन दिए ।
देशलाई बचाउन पनि एमालेले जित्न आवश्यक : डोरमणि पौडेल
नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अहिले मुलुक संकटमा रहेकाले देशलाई बचाउन पनि एमालेले जित्न जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले एमाले कमजोर बनाउने देशी विदेशी शक्ति क्रियाशील रहेको बताए । राष्ट्रियता बलियो बनाउन केही दलसँग सहकार्य भएको पनि जिकिर गरे ।
सिक्किमिकरणमा पुर्याउन भुटानीकरण गर्न गठबन्धनले केपी ओली नेतृत्वको सरकार ढालेको दाबी गरे । एमालेका जित्ने आधार धेरै रहेको बताउँदै उनले भने, 'अन्य दललाई मकवानपुरमा के गर्यो भनेर सोध्नुस्, उत्तर दिन सक्ने आधार छैन । तर, एमालेले मकवानपुरका लागि के चै गरेन भनेर भन्ने आधारहरू धेरै छन् ।'
एमालेको विजय सुनिश्चित : एकालाल श्रेष्ठ
आगामी निर्वाचनमा मकवानपुरमा नेकपा एमालेको विजय सुनिश्चित रहेको नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा मकवानपुर क्षेत्र नम्बर–२ अन्तरगत प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले बताएका छन् ।
एमालेले समृद्धि र राष्ट्रियताको नेतृत्व गरेको अवस्थामा सरकारबाट बाहिरिन बाध्य पारिएको बताए । एमाले सरकारबाट बाहिरिएसँगै विकासको बाटो बन्द हुँदै गएको उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया