हेटौंडामा प्रदेश संरचनाको समीक्षा : बिचौलियाजस्तो भएको स्थानीयको टिप्पणी
मकवानपुर- संघीयता अभ्यासको ५ वर्ष पूरा हुँदै गर्दा यो संरचनाको बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणीहरू नै बढी आउने गरेको छ । तर, सरकारी तहबाट भने अन्य कार्यक्रममा भाषणको शैलीमा बाहेक यसको समीक्षा भएको छैन ।
बागमती प्रदेशको राजधानी हेटौंडामा एक सञ्चार गृहले आयोजना गरेको कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरूले प्रदेश सरकार विकास निर्माणमा बेकम्मा भएको टिप्पणी गरेका छन् । 'दलका नेताहरू कुर्सी मोहमा डुब्ने, जनताको करले मन्त्री पाल्नु पर्ने, यो बेकम्मा प्रदेश तह किन चाहियो,' कार्यक्रममा सहभागीहरूले यस्तै आक्रोश पोखेका छन् ।
न्युज २४ टेलिभिजनले हेटौंडामा आयोजना गरेको सिधा कुरा मुख्यमन्त्रीसँग कार्यक्रममा सहभागीहरूले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकार बीचको बिचौलिया जस्तो भएको बताए । संघले देला भनेर प्रदेश आशा गरिने, तर संघले सधैं साघुरो मन गर्ने गरेको कारण पनि प्रदेशको औचित्य नभएको टिप्पणी सहभागीहरूले गरेका हुन् ।
कार्यक्रमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारलाई बलियो बनाउने जिम्मेवारी केन्द्रले आफ्नो हो भनेर नसोच्दा समस्या भएको बताए । 'केन्द्रीकृत मानसिकताले विकास गर्न दिएन,' मुख्यमन्त्री पाण्डेले भने, 'केन्द्रीय राजनीति छिन्नभिन्न भएपछि प्रदेशमा कुर्सी मोह बढेजस्तो देखिएको हो, राजनीतिक स्थिरता नभएपछि कसरी विकास हुन्छ ।'
मन्त्रालय फुटाएर मन्त्री थप्ने, जनतालाई पाल्नै गाह्रो भएको सवाललाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भने, 'एउटै मन्त्रीको जिम्मेवारीमा धेरै मन्त्रालयहरू गाभिएका कारण मन्त्रीले सबैतिर ध्यान दिन सक्नुभएन, सोचे अनुसारको विकास भएन, अनि मन्त्रालय फुटाइएको हो ।'
कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको संरचनालाई केन्द्रीय कर्मचारी तन्त्रले नस्वीकारेको बताए । केन्द्रीकृत अभ्यास लामो समयको अभ्यास भएकाले यो संघीयताको बानी पार्न पनि केही लामै समय लाग्ने पौडेलले बताए ।
आफू मुख्यमन्त्री भएर आएपछि संरचना निर्माणमा समय लागेको बताउँदै पौडेलले भने, 'यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नु पर्यो, अब खाका बनेको छ, प्रदेश सरकार देखिने भएको छ ।'
कार्यक्रममा नागरिक समाजका अगुवा पत्रकार प्रताप बिष्टले नयाँ संरचनाका कारण केही सकस रहे पनि, जनताको अपेक्षा अधुरो रहेको उल्लेख गरे । 'प्रदेश सरकार आफैँ पनि सेतु बनेर बस्यो, केन्द्रले दिएन भनेर पन्छिएर प्रदेश सरकारले पार पाउने अवस्था हैन ।'
कार्यान्वयन तहमा संघीयता आएपनि संघीय आचरण सोचेजस्तो नबनेको उनले भनाइ छ । 'केन्द्रीय नेतृत्वमा सामन्तीवादी प्रवृत्ति छ । यता प्रदेशमा चुनाव उठ्दा दलले धेरै आशा देखायो । तर, पूरा गर्न सकेन अनि जनतामा निराशा बढेको छ ।'
कार्यक्रममा हेटौंडाका व्यवसायी राजकुमार न्यौपानेले व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएपछि जनताको दु:ख झनै बढेको बताए । दलहरूबीच खिचातानी भयो । कुर्सी मोह अति भयो । प्रदेशमा काम गर्ने नेताले पनि केन्द्रको दोष दिएर कुर्सीमा बस्न मिल्दैन,' न्यौपानेले भने, 'आफूले गर्न नसके कुर्सी छाडे भैगो नी, केन्द्रले दिएन भन्न पाइन्छ ?' उनले प्रश्न गरे ।
दशकौँदेखि हेटौंडाको बजारको संरचना अस्तव्यस्त रहेको, अस्पतालको अवस्था नाजुक भएको, खेल मैदान, शिक्षा, स्वास्थ्य, रोजगारबारे युवाहरूले मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया