Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

जनताको पार्टी एमाले हो: प्रदेश सांसद उम्मेदवार एकालाल

एमालेसँग सद्भाव र आत्मियता छ: कमल थापा

इकागज |
असोज ३१, २०७९ सोमबार १८:२३ बजे

मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मकवानपुर क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले जनताको पार्टी नेकपा एमाले भएकाले आगामी चुनावमा जित पक्का भएको दाबी गरेका छन् ।​

विगतमा एमालेले गरेका कामका कारण पनि एमालेकाे जितलाई कसैले रोक्न नसक्ने बताए । साेमबार हेटौंडा ५ र ६ को भिन्नभिन्नै समयमा नेकपा एमालेको निर्वाचन प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार श्रेष्ठले प्रदेशको राजधानीलाई अझ विकास गर्न जरुरी रहेको उल्लेख गरे ।


एमालेविरुद्ध बनेको गठबन्धन जनतालाई सुख हैन दु:ख दिने नियतले आएको उनको दाबी थियो । नेकपा एमालेले अघि सारेको 'सुखी नेपाली समृद्ध नेपाल'को नारा सार्थक गराउन एमालेले जित्न आवश्यक रहेकोमा उम्मेदवार श्रेष्ठको जोड थियो । मुलुकमा भैरहेका राजनीतिक षड्यन्त्र रोक्न एमाले नेतृत्वलाई सबै मिलेर स्थापित गराउनु पर्नेकाे भनाइ छ ।

अहिले अर्थतन्त्रको अवस्था कहालीलाग्दो हुँदै गइरहेको भन्दै देशलाई अगाडि बढाउन, अर्थतन्त्र बलियो बनाउन एमालेले जित्नुको विकल्प नभएको उनले बताए । विपक्षीहरूले एमलेविरुद्ध भ्रम फैलाउन सुरु गरेको भन्दै यसलाई चिरेर योजनाबद्ध ढंगबाट अगाडि बढ्नुपर्ने उनकाे भनाइ छ ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य एवं हेटौंडा उपमहानगरपालिकाका पूर्वमेयर हरिबहादुर महत, नेकपा एमालेका जिल्ला सचिव नवीन सिग्देल, उपसचिव सीता बिष्ट, सचिवालय सदस्य तथा नगर इन्चार्ज सुनिल मोक्तान, सचिवालय सदस्य मदन दाहाललगायतको उपस्थिति थियो ।​

एमालेसँग सद्भाव र आत्मियता छ: कमल थापा

मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले एमालेसँग सद्भाव र आत्मियता निरन्तर रहेको बताएका छन् । नेकपा एमालेको तर्फबाट सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रन पाउनु आफ्ना लागि सौभाग्य रहेको थापाको भनाइ थियो ।

बाह्य शक्तिको चलखेल व्यापक रूपमा बढेकाले यसलाई रोक्न राष्ट्रवादी शक्तिहरूको एकता खाँचो रहेको उनले औँल्याए । देशभित्र पनि कतिपय राजनीतिक दलहरूले स्वाभिमान कायम राख्न नसकेको, राष्ट्रवादी शक्ति कमजोर बनाउने प्रयास गरेको आरोप लगाए ।

नेपालको चुच्चे नक्सा जारी भएसँगै एमालेलगायतका राष्ट्रवादी शक्तिमाथि प्रहार हुन थालेको उनको कथन थियो । उनले गठबन्धन राष्ट्रवादी शक्ति कमजोर पार्नका लागि मात्र बनेकाले यसले जनता र देशको हित नगर्ने बताए ।

'देश रहे मात्र प्रजातन्त्रको आभास हुन्छ, देश बचे मात्र आर्थिक समृद्धि हुन्छ,' उनले भने ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुरलाई अस्थायी राजधानी बनाउने पक्षमा रहेपछि आफूले उपप्रधानमन्त्री पदबाट राजीनामा दिने चेतावनी पछि हेटौंडा अस्थायी राजधानी भएको उनकाे भनाइ छ ।

त्यो बेला बनेको अस्थायी राजधानीलाई एमालेका नेता डोरमणि पौडेल मुख्यमन्त्री भएपछि स्थायी कायम भएको भन्दै प्रशंसा समेत उनले गरे ।


Author

थप समाचार
x