Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

बागमती

प्रहरीमा संघीय संरचना खारेजीको माग

इकागज |
असोज ३१, २०७९ सोमबार १८:३६ बजे

मकवानपुर- प्रहरी दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रहरी प्रदेश सरकारको मातहतमा आउनुपर्ने माग राखेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सोमबार ६७ औँ प्रहरी दिवस मनाएको छ । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुक संघीयतामा गएसँगै प्रहरी समायोजन हुन नसक्नु दुःखद भएको बताए ।


उनले प्रदेश प्रहरी ऐन बनाए पनि काम गर्न नपाएको गुनासो गरे । संघीयता कार्यान्वयनसँगै प्रहरी प्रदेश सरकार मातहत आउनुपर्ने तर समायोजन हुन सकेकोमा उनले दु:ख व्यक्त गरे । 'प्रदेश सरकार छ तर प्रहरी छैन,' पाण्डेले भने ।

प्रहरीको उपस्थितिलाई सर्वसाधारणले राज्यको उपस्थितिको रूपमा लिने गरेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहन प्रहरी कर्मचारीलाई अनुरोध गरे । बागमती प्रदेश प्रहरीको अनुरोध बमोजिम “मार्ट पुलिस कन्ट्रोल रुम” बनाउन सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरिसकेको उनले जानकारी दिए ।

प्रदेश सरकारले प्रहरीका लागि भवन बनाउन सहयोग गरेको उल्लेख गर्दै पाण्डेले भने, 'सहकार्य अझै अघि बढ्नेछ, प्रदेशका एक हजार १२१ वटै वडामा कम्तिमा एक जनालाई विपद् व्यवस्थापन तालिम दिइने कामको लागि पनि बजेट व्यवस्था गरेका छौं ।'

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रहरी सरकारको मेरुदण्डको रूपमा रहेको बताए । स्थानीय निर्वाचन जस्तै मंसिर ४ को निर्वाचन पनि स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गराउने गरी भूमिका खेल्न प्रहरी कर्मचारीलाई उनले अनुरोध गरे ।

कार्यक्रममा उत्कृष्ट प्रदेश प्रहरी प्रमुखबाट वाग्मती प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, उत्कृष्ट प्रदेश प्रहरीबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा र देशभरको उत्कृष्ट जिल्ला ट्राफिकमध्ये मकवानपुरका प्रमुख मुनेन्द्र थापा सम्मानित भएका थिए । कार्यक्रममा प्रहरीलाई सहयोग गर्दै आएका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।


Author

थप समाचार
x