बागमतीको मुख्यमन्त्री बन्ने दौडमा यी ६ उम्मेदवार
मकवानपुर - आगामी कार्यकालमा बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौड सुरु भएको छ। आसन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित भई प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा ६ जना उम्मेदवाहरू मैदानमा छन् । उम्मेदवारमध्ये केहीले खुलेरै आफ्नो मनोकांक्षा सार्वजनिक गरेका छन् ।
प्रदेश सरकारको नेतृत्वमा सत्तारूढ गठबन्धनमा आवद्ध तीन दलसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू आगामी मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा ६ नेता देखिएका छन् ।
नेपाली कांग्रेस, नेकपा समाजवादी र नेकपा एमालेबाट मात्रै २/२ जान आकांक्षी रहेको छन् । हालको कार्यकालमा नै आलोपालो मुख्यमन्त्री बन्ने सहमति भए पनि अवसर नपाएका नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका मुख्य प्रतिस्पर्धी हुन् । उनीसँगै नेपाली काँग्रेसका अर्का नेता आनन्दराम पराजुली पनि मुख्यमन्त्री बन्ने दाउमा उम्मेदवार बनेका छन् । पराजुली र बानियाँ काँग्रेसमा फरक धारका नेता हुन् ।
सत्तारूढ गठबन्धनमा भएको सहमतिअनुसार बानियाँ हाल प्रदेशको मुख्यमन्त्री बन्नुपर्थ्यो । नेकपा एमालेको सरकार ढालेपछि समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वमा प्रदेश सरकार गठन हुँदा आठ–आठ महिना कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर पछि मुख्यमन्त्री पाण्डेले बानियाँलाई पद छाड्न मानेनन्। पाण्डेलाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउँदा अरु प्रदेशमा समेत सत्ता गठबन्धन टुट्ने भएपछि शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाललगायत शिर्ष नेतृत्वबाटै पाण्डेको सरकार नै यथास्थितिमा राख्ने सहमति भयो ।
आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ चुनाव लड्ने मनस्थिति बनाएका बानियाँलाई मुख्यमन्त्री बनाउनकै लागि कांग्रेसले प्रदेशसभातर्फ उम्मेदवार बनाएको हो । बानियाँ यस अघि २०७४ मा चुनाव लडेको मकवानपुर–२ (ख) बाटै प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।
बानियाँ मकवानपुर–१ बाट २०७० मा भएको दोस्रो संविधानसभा सदस्य पदमा चुनाव जितेर सोही कार्यकालमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन र गृह राज्यमन्त्रीसमेत बनिसकेका छन् ।
काँग्रेसका अर्का नेता पराजुली अघिल्लो पटक स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा छिनो मत अन्तरले पराजित भएका नेता हुन । गत स्थानीय तहको निर्वाचनमा समेत पराजुलीलाई उपमहानगरपालिकामा मेयरको उम्मेदवारी बनाइने अन्तिम तयारी भए पनि गठबन्धनमा जाँदा समाजवादीले मेयरको टिकट पाएपछि उनी बाहिरिएका थिए । नेता बानियाँ मकवानपुर र केन्द्रसम्म राम्रो पकड भएको व्यक्ति मानिन्छन् ।
यसैगरी हाल बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री रहेका माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल पनि बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन्। प्रदेश सरकार गठन भएदेखि नै सत्तामा रहेका जम्कट्टेल आगामी निर्वाचनपछि पनि सत्तामै रहने होडमा छन्।
उनी एमाले–माओवादी केन्द्रको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस यता करिब ११ महिना प्रमुख प्रतिपक्षको भूमिकामा रहेका जम्कट्टेल गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा कानुन मन्त्री बनेका हुन् ।
एमाले विभाजनपछि प्रदेशको मुख्यमन्त्रीमा उनको पनि दावी थियो। तर, केन्द्रबाट माओवादी केन्द्रले अन्य २ वटा प्रदेशमा सरकारको नेतृत्व लिएका कारण बागमती समाजवादीको भागमा परेपछि जमकट्टेलले अवसर पाएनन् । खासमा उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारको आकांक्षी थिए । पछिल्लो पटक मुख्यमन्त्री बन्ने अपेक्षा लिएर धादिङ–१ (ख) बाट पुनः प्रदेशसभामा उम्मेदवार बनेका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीबाट प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्ने दौडमा छन् । समाजवादीबाट हाल प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रतिनिधिसभाको उम्मेदवार बनेपछि उनी आगामी मुख्यमन्त्रीको दौडबाट आउट भएका छन्। प्रदेश सरकारमा मुख्यमन्त्री बन्नकै लागि खनाल चितवन–१ (ख) बाट प्रदेशसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् ।
खनाल यसअघि प्रदेशको समाजिक विकास मन्त्री पनि भएका व्यक्ति हुन् । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। १५ दिन मन्त्री पद सम्हाले पनि उनले सो सरकारबाट राजीनामा दिएर एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादी पार्टीमा आवद्ध भए, र २ महिना नबित्दै उनी फेरि मन्त्री बने । एकै कार्यकालमा उनले २ पटक मन्त्री बन्ने अवसर पाएका थिए। उनी सत्ता गठबन्धनको तर्फबाट राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने। हाल उनी सरकारका प्रवक्ता समेत हुन्।
यसैगरी बागमती प्रदेश सरकार सञ्चालनार्थ नेकपा एमालेबाट पनि मनोकांक्षा राख्नेहरू छन् । प्रदेश सभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षा राखेका छन् । श्रेष्ठले सार्वजनिक रुपमा नै आफू प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा रहेको बताएका छन्। श्रेष्ठ एमालेबाट काठमाडौं–२ (क) बाट प्रदेश सभातर्फ उम्मेदवार बनेका छन्।
यसैगरी एमालेबाट मुख्यमन्त्रीको अर्को प्रमुख दावेदारको रूपमा देवी ज्ञवाली रहेका छन्। २०७४ सालमा भरतपुर महानगरपालिकामा मेयर पदका प्रत्यासी रहेका ज्ञवालीलाई यो पटक चितवनबाट प्रदेशसभा उम्मेदवार बनाएर एमालेले मुख्यमन्त्रीको दावा पेश गरेको चर्चा छ। ज्ञवालीलाई एमालेको राम्रो मानिएको चितवनको क्षेत्र नंबर २ प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया